सिन्धुलीमा अत्यधिक गर्मी: वर्षा नहुँदा किसानसहित सर्वसाधारण पीडित
सिन्धुली, असार १४।
सिन्धुलीमा पछिल्लो केही दिनयता अत्यधिक गर्मी बढेपछि स्थानीय बासिन्दा दैनिक जीवनमा कठिनाइ भोग्न बाध्य भएका छन्। असार १४ गते भइसक्दा पनि पर्याप्त वर्षा नपरेकोले गर्मी झनै असह्य बनिरहेको स्थानीयले जनाएका छन्।
दिउँसोको समयमा तापक्रम अत्यधिक बढ्ने भएकाले बाहिर निस्कनसमेत मुस्किल परेको छ भने रातको समयमा चर्को गर्मीका कारण निद्रामा समेत असर परेको छ। गर्मीको यो असहज अवस्थाले विद्यालय जाने विद्यार्थी, कामकाजी वर्ग, वृद्धवृद्धा र बालबालिकासमेत प्रभावित भएका छन्।
यस वर्ष समयमै वर्षा नहुँदा खेतीपातीको काममा समेत असर पुगेको छ। स्थानीय किसानहरू धान रोपाइँका लागि आवश्यक पानी नपरेको भन्दै चिन्तित छन्। वर्षा नपरेर खेत सुक्खा रहँदा धानको उत्पादनमा भारी गिरावट आउने सम्भावना रहेको किसानहरूको भनाइ छ।
“असारको मध्यसम्म आइपुग्दा पनि पानी नपरेपछि खेती गर्न सकिएको छैन। यो वर्ष धान फल्छ कि फल्दैन भन्ने चिन्ताले सताएको छ,” स्थानीय किसान टिकाराम लामाले बताए।
मौसम पूर्वानुमान शाखाबाट भने चाँडै वर्षा हुने अनुमान गरिएको छैन। स्थानीय जनजीवनलाई सहज बनाउने र किसानलाई राहत प्रदान गर्ने विषयमा स्थानीय तहले आवश्यक पहल गर्नुपर्ने माग समेत उठ्न थालेको छ।


