झुटा जाहेरी दिएर छिमेकीलाई फसाउने प्रयास: रौतहटमा एक महिला पक्राउ
सिन्धुली, १ साउन – रौतहटको माधवनारायण नगरपालिका–५, मिठुअर्वाकी २१ वर्षीया प्रमिला देवी सहनी झुटा जाहेरीमार्फत छिमेकीलाई फसाउने प्रयास गरेको आरोपमा प्रहरीले पक्राउ गरेकी छिन्।
जिल्ला प्रहरी कार्यालय, रौतहटका अनुसार सहनीले अर्काको उक्साहटमा परेर बनावटी उजुरी दर्ता गरेकी थिइन्। उनले आफ्नै छोरीलाई शरीर बन्धक बनाएको नाटक गर्दै छिमेकीविरुद्ध चेलिबेटी बेचबिखन र अपहरणको झुटा जाहेरी दिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी प्रमुख एसपी नेत्रमणि गिरीका अनुसार सहनीमाथि “अभद्र व्यवहार” सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालयबाट म्याद लिएर अनुसन्धान भइरहेको छ।
घटनाको पृष्ठभूमिमा प्रमिला सहनी र जनक सहनीले छिमेकी सुनिता देवी सहनीको घरमा गएर कुटपिट गरेका थिए। घटनापछि इलाका प्रहरी कार्यालय गरुडामा दुबै पक्षबीच चार हजार रुपैयाँ औषधि उपचार खर्च दिने सर्तमा मिलापत्र भएको थियो। तर सहनी पक्षले उक्त रकम नदिएपछि झुटा जाहेरी दिइएको खुलेको प्रहरीले जनाएको छ।
एसपी गिरीका अनुसार “झुटा र कृत्रिम उजुरी दिनेहरू विरुद्ध कडाइका साथ कानुनी कारबाही अघि बढाइनेछ।” उनले सत्य तथ्य बिना उजुरी दिने प्रवृत्तिले प्रहरी अनुसन्धानमा बाधा पुग्ने र निर्दोष व्यक्तिहरू अन्यायमा पर्ने भएकाले यसप्रति प्रहरी गम्भीर रहेको बताए।
रौतहट प्रहरीले झुटा मुद्दामार्फत अरुलाई फसाउने कार्यको रोकथामका लागि सक्रिय अनुगमन तथा कारबाही सुरु गरिसकेको जनाएको छ।



