समयमै खर्च गर्न नसक्दा झण्डै डेढ अर्ब बजेट फ्रिज
सिन्धुली, १ श्रावण । विकास निर्माणका लागि विनियोजन भएको रकम समयमै खर्च(काम) गर्न नसकिँदा जिल्लामा वर्षेनी करोडौँ रकम (बजेट) फ्रिज हुँदै आएको छ ।
जिल्लामा ठुलो मात्रामा विकासका लागि बजेट विनियोजन हुने गरे पनि ढिलो गरी कामको अख्तियारी आउने, काममा ढिलासुस्ती गर्ने गरेका कारण समयमै काम गर्न नसकिँदा वर्षेनी बजेट फ्रिज हुँदै जाने गरेको कर्मचारी बताउँछन् ।
कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा जिल्लामा संघीय सरकार तथा प्रदेश सरकारबाट प्राप्त चालु तथा पुँजीगत तर्फको कुल १ अर्ब ३९ करोड ८५ लाख ३२ हजार १ सय ९१ रुपैयाँ बजेट रकम फ्रिज भएको छ ।
गत आर्थिक वर्षमा संघ तथा प्रदेश सरकारको चालु तथा पुँजीगत तर्फको प्राप्त कुल १० अर्ब ८५ करोड २५ लाख ६ हजार ८ सय १९ रुपैयाँ रकम मध्ये ९ अर्ब ४५ करोड १७ लाख २४ हजार ६ सय २८ रुपैयाँ खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीले जनाएको छ ।
संघीय सरकार अनुदान तर्फको चालु र पुँजीगत गरी प्राप्त कुल बजेट ९ अर्ब ४५ करोड १७ लाख २४ हजार ६ सय २८ रुपैया मध्ये ८ अर्ब ६१ करोड ५४ लाख ४८ हजार ७ सय ४७ रुपैयाँ खर्च भएको छ भने बागमती प्रदेश सरकारबाट प्राप्त कुल बजेट ३ अर्ब ६७ करोड ४४ लाख ९३ हजार ४ सय ४३ रुपैयाँ मध्ये ३ अर्ब ११ करोड २२ लाख ३७ हजार एक सय ३३ रुपैयाँ खर्च भएको छ ।
गत आर्थिक बर्षमा संघीय सरकार तर्फको चालु तर्फ २२ करोड ७७ लाख १ हजार ५ सय २० रुपैयाँ र पुँजीगत तर्फ २२ करोड ७७ लाख १ हजार ५ सय २० रुपैयाँ गरी जम्मा ८३ करोड ६२ लाख ७५ हजार ८ सय ८१ रुपैयाँ र प्रदेश सरकार तर्फको चालु तर्फ १३ करोड २२ लाख ७९ हजार ६ सय ७० रुपैयाँ र पुँजीगत तर्फको ४२ करोड ९९ लाख ७६ हजार ६ सय ६.४० गरि जम्मा ५६ करोड २२ लाख ५६ हजार ३ सय १० रुपैयाँ फ्रिज भएको छ । संघ र प्रदेश तर्फको कुल १ अर्ब ३९ करोड ८५ लाख ३२ हजार १ सय ९१ रुपैयाँ रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रक कार्यालय सिन्धुलीका प्रमुख कोष नियन्त्रक हरिहर शर्मा तिवारीले जानकारी दिनुभयो ।
संघीय सरकार तर्फ पुँजीगत ७०.७६ प्रतिशत र चालु तर्फ ९६.९१ प्रतिशत वित्तिय प्रगति हासील भएको छ । संघीय सरकार तर्फ सुनकोशी मरिण डाइभर्सन बहुउदेश्यीय आयोजना, चुरे उत्थानशिल आयोजना र नयाँ शहर आयोजना खुर्कोटले न्यून बित्तिय प्रगति हासील गरेका छन अर्थात ति कार्यालयमा प्राप्त पुँजीगत बजेट सबैभन्दा बढी फ्रिज भएको छ ।
त्यस्तै प्रदेश सरकार तर्फ चालु ८८.९७ प्रतिशत र पुजीगत ८२.६३ प्रतिशत वित्तिय प्रगति हासील भएको कार्यालयले जनाएको छ । विकाससँग सम्बन्धीत कार्यालयहरु तर्फ जलश्रोत तथा सिचाई विकास डिभिजन कार्यालयले उत्कृष्ट प्रगति हासील गरेको छ उक्त कार्यालयले पुँजीगत तर्फ ९६.८४ प्रतिशत प्रगति हासील गरेको छ भने डिभिजन बन कार्यालय सिन्धुली, पुर्वाधार विकास कार्यालय र शहरी विकास तथा भवन कार्यालय सिन्धुलीले पनि सन्तोषजनक प्रगति हासील गरेको कार्यालय प्रमुख हरिहर शर्मा तिवारीले बताउनुभयो ।
बजेट फ्रिजको अवस्थालाई हेर्ने हो भने आर्थिक वर्ष २०७९/८० मा संघीय सरकार तथा प्रदेश सरकारबाट प्राप्त १ अर्ब २१ करोड बढी रकम फ्रिज भएको थियो भने आर्थिक वर्ष २०८०⁄०८१ मा १ अर्व १८ करोड ४१ लाख ९३ हजार ४ सय ६९ रुपैयाँ फ्रिज भएको थियो ।
बजेट खर्चका लागि सरकारका प्रत्येक निकायलाई विभिन्न खर्च शीर्षक अन्तर्गत रहेर कति रकम पाउने भनी अख्तियारी दिइन्छ । खर्च गर्न उपलब्ध गराइएको रकम र त्यो खर्च गर्न दिइएको अख्तियारी हुँदाहुँदै पनि रकम खर्च नहुनु बजेट फ्रिज हुनु हो । कर्मचारी संयन्त्रको कमजोरीका कारण बर्षेनी जिल्लामा बजेट फ्रिज हुने क्रम बढ्दै गईरहेको छ भने त्यसको प्रत्यक्ष मारमा आम नागरिकहरु पर्ने गरेका छन । समयमै काम सुरु गर्ने र समयमै सम्पनन् गर्ने परम्पराको सुरुवात गर्न सकेमा बजेट फ्रिज हुने अवस्थालाई रोक्न सक्ने अवस्था आउन सक्छ । यसतर्फ सबै पक्ष उत्तिकै जिम्मेवार बनेर लाग्न जरुरी छ ।



