भारतमा अंग तस्करीको शिकार भए सिन्धुलीका युवक
सिन्धुली, २१ साउन – दुधौली नगरपालिका–१ का ३४ वर्षीय खिलबहादुर भुजेल भारतमा मानव अंग तस्करीको शिकार भएका छन्। रोजगारको प्रलोभनमा भारत पुर्याइएका भुजेलको एक मृगौला चोरी भएको खुलेको छ।
परिवारका अनुसार केही महिना अघि रोजगारीको खोजीमा पोखरा गएका भुजेललाई होटलमा काम लगाइदिने बहानामा एक व्यक्ति भारत लगेका थिए। भारत पुर्याएपछि उनलाई बेहोस बनाई शल्यक्रिया गरेर मृगौला निकालिएको बताइएको छ।
भारत गएको तीन दिनपछि भुजेललाई शल्यक्रियाको घाउसहित काठमाडौंको कलंकीमा ल्याएर फालिएको थियो। घर फर्किएपछि स्वास्थ्यमा समस्या देखिएपछि उपचार गराउँदा डकाहा स्थित समिट माउन्टेन अस्पतालका चिकित्सकले उनको शरीरमा एक मात्र मृगौला रहेको पुष्टि गरेका हुन्।
भारत लगेका व्यक्तिले उनलाई गम्भीर बिरामी भएर शल्यक्रिया गरिएको दाबी गरे पनि परिवार र स्थानीयले यो घटना योजनाबद्ध अंग तस्करी भएको ठहर गरेका छन्। अहिले भुजेललाई भारत कसले लगे भन्ने पूर्ण रूपमा खुल्न सकेको छैन।
यस घटनाले नेपालको सीमापार मानव अंग तस्करीको गम्भीर पक्ष फेरि उजागर गरेको छ। स्थानीयवासीले प्रहरी प्रशासन र सम्बन्धित निकायसँग घटनाको छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्।




