ताजा समाचार

भौतिकवादी अडानमा डा. बाबुराम भट्टराई, सामाजिक सञ्जालमा बहस

काठमाडौं ,२ फागुन —

पूर्वप्रधानमन्त्री तथा समाजवादी चिन्तक डा. बाबुराम भट्टराईका बुबा भोज प्रसाद भट्टराईको माघ २२ गते ९७ वर्षको उमेरमा निधन भएको छ। उहाँको अन्त्येष्टि पशुपति आर्यघाट मा गरिएको थियो। पितृशोकमा परेका डा. भट्टराईले परम्परागत काजकिरिया नगरेको विषय सार्वजनिक भएपछि सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म व्यापक बहस सुरु भएको छ।

ढ.बाबुराम भट्टराईको पिता स्वर्गिय भोज प्रसाद भट्टराघ

परम्परागत हिन्दु संस्कारअनुसार छोराले आमाबुबाको निधनपछि काजकिरिया गर्नु गरिन्छ । भट्टराईले उक्त संस्कार नअपनाउने निर्णय लिएपछि कतिपयले आलोचना गरे पनि ठूलो समूहले यसलाई उनको दीर्घकालीन वैचारिक अडानको बलियो कदमका रूपमा व्याख्या गरेका छन्। भट्टराई लामो समयदेखि भौतिकवादी दर्शनका पक्षधर नेता हुन्। जीवन र जगतलाई वैज्ञानिक तथा ऐतिहासिक भौतिकवादको दृष्टिले हेर्ने उनको सार्वजनिक धारणा पुरानै हो।

बुवाको निधनपछि परिवारजन, आफन्त तथा शुभेच्छुकहरूले श्रद्धाञ्जली अर्पण गरेका थिए। तर, काजकिरिया नगरेको विषयले बहसको रूप लियो। आलोचनाका स्वरहरू रहे पनि ती अपेक्षाकृत सीमित देखिएका छन्। अधिकांश प्रतिक्रियामा भने व्यक्तिगत आस्था र विचारको स्वतन्त्रतालाई सम्मान गर्नुपर्ने धारणा अघि सारिएको छ। समर्थकहरूका अनुसार सार्वजनिक जीवनमा रहँदै पनि आफ्नो दर्शनअनुसार आचरण गर्नु नै वास्तविक नैतिक दृढता हो र दर्शनलाई जीवनमा लागु गर्ने कुरा महानता हो

डा. भट्टराई नेपाली कम्युनिष्ट आन्दोलनका प्रमुख वैचारिक नेतामध्ये एक हुन्। विद्यार्थी जीवनदेखि नै वामपन्थी राजनीतिमा सक्रिय उनले पछि नेपाल कम्युनिष्ट पार्टी (माओवादी) मार्फत सशस्त्र जनआन्दोलनको वैचारिक नेतृत्व गरेका थिए। मार्क्सवादी दर्शन, विशेषगरी ऐतिहासिक भौतिकवादप्रति उनको प्रतिबद्धता खुला रूपमा व्यक्त हुँदै आएको छ। भौतिकवादी दृष्टिकोणले समाजका धार्मिक कर्मकाण्डलाई ऐतिहासिक–सामाजिक प्रक्रियाको उत्पादनका रूपमा विश्लेषण गर्छ, अनिवार्य सत्यका रूपमा होइन। यही सैद्धान्तिक आधारमा उनले व्यक्तिगत रूपमा धार्मिक संस्कार नअपनाएको बुझाइ समर्थकहरूको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार यो प्रसंगलाई व्यापक सामाजिक सन्दर्भमा हेर्न आवश्यक छ। नेपाली समाज परिवर्तनको चरणमा रहेको उल्लेख गर्दै उनीहरू भन्छन्—“परम्परा र आधुनिक वैज्ञानिक सोचबीचको संवाद स्वाभाविक प्रक्रिया हो। कुनै व्यक्तिले आफ्नो दर्शनअनुसार निर्णय लिनु लोकतान्त्रिक समाजमा अधिकारको विषय हो।” यस घटनाले पुराना संस्कार र नयाँ चेतनाबीचको बहसलाई पुनः जीवित बनाएको विश्लेषण गरिएको छ।

सामाजिक सञ्जालमा देखिएको प्रतिक्रियाले नेपाली समाजभित्र बढ्दो वैचारिक विविधतालाई पनि उजागर गरेको छ। केहीले परम्परागत मूल्यको संरक्षणमा जोड दिएका छन् भने ठूलो समूहले वैज्ञानिक दृष्टिकोण, तर्कशीलता र व्यक्तिगत स्वतन्त्रताको पक्षमा अभिव्यक्ति दिएका छन्। कतिपयले यसलाई सामाजिक कुरीति र अनावश्यक कर्मकाण्डविरुद्धको सांकेतिक कदमका रूपमा समेत व्याख्या गरेका छन्।

डा. भट्टराई स्वयंले औपचारिक प्रतिक्रिया नदिए पनि उनी विगतदेखि नै अन्धविश्वासको अन्त्य, वैज्ञानिक चेतनाको विकास र समाज रूपान्तरणको पक्षमा बोल्दै आएका छन्। उनका लेख, अन्तर्वार्ता तथा सार्वजनिक अभिव्यक्तिहरूमा धर्मनिरपेक्षता, तर्कशीलता र आधुनिक समाज निर्माणको आवश्यकता दोहोरिँदै आएको छ। यस सन्दर्भमा उनको पछिल्लो निर्णयलाई वैचारिक निरन्तरताको रूपमा हेर्नेहरूको संख्या उल्लेख्य छ।

 लोकतान्त्रिक व्यवस्थामा विविध विचार र अभ्यासलाई स्थान दिनु नै सहिष्णुताको आधार मानिन्छ। भट्टराईको निर्णयले यही बहसलाई अझ स्पष्ट बनाएको छ—व्यक्ति आफ्नो विश्वासअनुसार बाँच्न पाउने कि परम्पराको दबाबअनुसार चल्नुपर्ने?

डा. भट्टराईको बुवा भोज प्रसाद भट्टराईको निधनप्रति विभिन्न राजनीतिक दलका नेता तथा शुभेच्छुकहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। यद्यपि काजकिरियाको विषयले उत्पन्न गरेको बहस भने व्यक्तिगत आस्था, सामाजिक परम्परा र वैज्ञानिक दृष्टिकोणबीचको सम्बन्धबारे गहिरो विमर्शतर्फ उन्मुख देखिन्छ। धेरैका लागि यो प्रसंग केवल एक पारिवारिक निर्णय नभई बदलिँदो समाजमा वैचारिक प्रतिबद्धताको उदाहरण बनेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button