मध्य पहाडी लोकमार्गमा टाटा सुमोको ठक्करबाट ८ वर्षीय बालकको मृत्यु, सडक अवरुद्ध
सिन्धुली , फागुन ३-
गोलन्जोर गाउँपालिका–३ लामसोती भन्ने ठाउँमा टाटा सुमोको ठक्करबाट एक बालकको मृत्यु भएको छ। आज दिउँसो दिउँसो १२:२० बजे सोलुखुम्बुबाट काठमाडौंतर्फ जाँदै गरेको ना. १ ज ४६२३ नम्बरको टाटा सुमोले स्थानीय ८ वर्षीय अभिक बयलकोटीलाई ठक्कर दिएको थियो। सवारी चालक सोलुखुम्बु जिल्लाको नेचसल्यान गाउँपालिका–२ निवासी २७ वर्षीय गोपाल भुजेल रहेको खुलाइएको छ।
प्राप्त जानकारीअनुसार शिवरात्रिको अवसरमा स्थानीय बालबालिकाले सडकमा डोरी टाँगी शिवरात्री पर्वको शुभकाना आद्रान -पद्रान गरी पैसा मागिरहेका थिए। सोही क्रममा गुडिरहेको टाटा सुमोले अभिकलाई ठक्कर दिएको बताइएको थियो । ठक्करबाट गम्भीर घाइते भएका बालकलाई तत्काल नजिकैको आधारभूत स्वास्थ्य चौकीमा लगिएको थियो। उपचारकै क्रममा सोही दिन दिउँसो ३:२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

बालकको मृत्यु भएपछि आक्रोशित आफन्त तथा स्थानीयवासीले दोषीमाथि कडा कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दै मध्य पहाडी लोकमार्ग अवरुद्ध गरेका छन्। सडक बन्द हुँदा दुवैतर्फ सवारी साधन लामो समयसम्म रोकिएका थिए भने यात्रुहरू अलपत्र परेका थिए।
घटनापछि स्थानीय राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, नेपाल प्रहरी र पीडित पक्षबीच छलफल भइरहेको बताइएको छ। समाजसेवी गौरव कार्कीका अनुसार वार्तामार्फत सहमति खोजी सडक खुलाउने प्रयास जारी छ। प्रहरीले चालकलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। थप विवरण आउन बाँकी रहेको जनाइएको छ।



