प्रधानमन्त्री ओलीको स्पेन भ्रमण सम्पन्न:

सिन्धुली, असार १९ – प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमण सफलतापूर्वक सम्पन्न भएको छ। प्रधानमन्त्री ओली ३० जुनदेखि ४ जुलाईसम्म स्पेनको सिभिल र म्याड्रिड शहरमा आयोजित विभिन्न उच्चस्तरीय कार्यक्रमहरूमा सहभागी भएर आज स्वदेश फर्किँदै छन्।
उक्त भ्रमणको मूल उद्देश्य स्पेनको सिभिल शहरमा आयोजित चौथो अन्तर्राष्ट्रिय अधोसंरचना विकास वित्त सम्मेलन (Fourth International Conference on Financing for Development – FFD-4) मा सहभागिता थियो। प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघअन्तर्गत अल्पविकसित देशहरूको समन्वय ब्यूरोका तर्फबाट सम्मेलनको अध्यक्षता गरे। उनले जलवायु परिवर्तन, ऋण व्यवस्थापन, वैदेशिक लगानी, वित्तीय प्रवाह, र सतत विकास लक्ष्य (SDGs) प्राप्तिका सन्दर्भमा नेपालजस्ता मुलुकहरूको पक्षमा स्पष्ट धारणा राखे।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजसँग द्विपक्षीय भेटवार्ता गरे। भेटमा नेपाल–स्पेन सम्बन्ध सुदृढ पार्ने विषयमा छलफल भयो। प्रधानमन्त्री ओलीले स्पेनमा नेपाली राजदूतावास स्थापनाको आवश्यकता औंल्याउँदै आवश्यक सहयोगका लागि आग्रह गरे। स्पेनी प्रधानमन्त्री सान्चेजले संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा नेपालको भूमिकाको प्रशंसा गरे।
यसैबीच, प्रधानमन्त्री ओलीले स्पेनका राजा फेलिपे छैठौंसँग समेत शिष्टाचार भेट गरे। साथै, म्याड्रिडमा आयोजना गरिएको ‘नेपाल–स्पेन व्यापार र लगानी प्रवर्द्धन सम्मेलन’ मा सम्बोधन गर्दै उनले नेपालमा लगानीको अवसरबारे जानकारी गराएका थिए।
भ्रमणको अन्तिम दिन प्रधानमन्त्री ओलीले म्याड्रिडस्थित विश्वप्रसिद्ध फुटबल क्लब रियल म्याड्रिडको सान्तियागो बर्नाबेउ रंगशाला अवलोकन गरे। क्लबका अन्तर्राष्ट्रिय निर्देशकले प्रधानमन्त्रीलाई सम्मानस्वरूप क्लबको जर्सी हस्तान्तरण गरेका थिए। साथै, नेपाली युवालाई फुटबल तालिमका लागि अवसर दिने विषयमा समेत सकारात्मक संकेत दिइएको छ।
प्रधानमन्त्री ओली आज अपराह्न ३:४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्कने कार्यक्रम छ। (फोटो युग सुत्रबाट)