गाउँघरका आवाज

मरिण गाउँपालिकाले वडा नं.६ पनि ‘उज्यालो वडा’ घोषणा, अबको लक्ष्य उज्यालो पालिका:

सिन्धुली ४ , मरिण गाउँपालिका–६ सोमबार एक विशेष समारोहका बीच ‘उज्यालो वडा’ घोषणा गरिएको छ । गाउँपालिकाले यसअघि वडा नं. ५ लाई उज्यालो वडा घोषणा गरिसकेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि तथा सिन्धुली–२ का प्रतिनिधि सभा सदस्य राजन दाहालले वडाभरका प्रत्येक घरधुरीमा राष्ट्रिय प्रशारण लाइनमार्फत विद्युत् विस्तार भएपछि गाउँपालिकाले उज्यालो वडा घोषणा गरेको जानकारी गराए ।

सांसद दाहालले भने, “दुर्गम बस्तीमा समेत बिजुली पुगेपछि स्थानीयको दैनिकी सहज बनेको छ, साथै गाउँमै साना उद्योग–व्यवसाय सञ्चालन गर्न टेवा पुगेको छ । यो कामले गाउँपालिकाको प्रयासलाई सार्थकता दिएको छ ।”

तर, उहाँले पछिल्लो समय नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ हटेपछि बढ्दो विजुली कटौतीप्रति चिन्ता व्यक्त गर्दै पुनः लोडसेडिङ हुने आशंका नागरिकमा बढेको टिप्पणी पनि गर्नुभयो ।

गाउँपालिका अध्यक्ष विमर्श मोक्तान (प्रख्यात) ले आफू निर्वाचित भएदेखि नै उज्यालो गाउँपालिका घोषणा गर्ने लक्ष्यसहित काम भइरहेको उल्लेख गर्दै हालसम्म दुई वडामा शतप्रतिशत घरधुरीमा बिजुली पुगेको बताए । “अब बाँकी वडाहरूमा पनि छिट्टै विजुली विस्तार गरेर सम्पूर्ण गाउँपालिकालाई उज्यालो पालिका घोषणा गर्नेछौं,” अध्यक्ष मोक्तानले भने ।

वडाअध्यक्ष हर्कविर माझीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष विमला माझी, प्रमुख प्रशासकीय अधिकृत विकास सुन्दास, नेपाल विद्युत् प्राधिकरण सिन्धुली वितरण केन्द्र प्रमुख शिशिर लम्साल, नेकपा (माओवादी केन्द्र) मरिण गाउँकमिटी अध्यक्ष काजीमान थिङसहित विभिन्न वडाअध्यक्ष, कार्यपालिका सदस्य, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button