गाउँघरका आवाज

सिन्धुलीमा बढ्दो सवारी दुर्घटना : एकै दिनमा दर्जनौँ घाइते

सिन्धुली – पछिल्लो केही दिनयता सिन्धुली जिल्लामा सवारी दुर्घटनाको दर अत्यधिक बढेको छ। विभिन्न स्थानमा भएका दुर्घटनामा दुई दर्जनभन्दा बढी मानिस घाइते भएका छन् भने केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

असोज ११ गते बिहान कमलामाई–१४ चन्दनपुर नजिकै मदन भण्डारी राजमार्गमा भक्तबहादुर सिंजाली मगर (२५, उदयपुर) ले चलाएको स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भए। त्यसैगरी असोज १३ गते बिहान दुधौली–५ घारीथुम्सीमा यात्रुवाहक बस सडकबाट २२ फिट तल खसी कम्तीमा १४ जना घाइते भए। घाइतेहरूलाई कटारी र सिर्थौली अस्पतालमा उपचार गरिएको छ।

यस्तै दिन बिहानै कमलामाई–४ चियाबारीमा ईभी गाडी र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते भए। सोही दिन दिउँसो सुनकोशी गाउँपालिका–६ भालुखोला नजिकै बोलेरो गाडी ५० मिटर तल सुनकोशी नदी किनारमा खस्दा १३ जना घाइते भए। गम्भीर घाइते प्रेम मगरसहितका यात्रु अहिले उपचाररत छन्। त्यस्तै दुधौलीमा अर्को मोटरसाइकल दुर्घटनामा तीन जना घाइते भई गम्भीर अवस्थामा उपचारका लागि बिराटनगर रिफर गरिएको छ।

एकै दिनमा यति धेरै दुर्घटना हुनु जिल्लाको सडक सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ। तीव्र गतिमा सवारी चलाउने, सडक संरचनागत कमजोरी, मापसे, र चालकको लापरबाही दुर्घटनाका मुख्य कारणका रूपमा देखिएका छन्।

प्रहरीले दुर्घटना न्यूनिकरणका लागि नियमित चेकजाँच र सचेतनामूलक कार्यक्रम चलाइरहेको भए पनि दुर्घटनाको संख्या घट्न सकेको छैन। प्रहरीले चालक र यात्रुलाई तीव्र गति नगर्न, मापसे नगर्न, लेनअनुसार चल्न, हेल्मेट र सिटबेल्ट प्रयोग गर्न, र सवारी नियमको कडाइका साथ पालना गर्न आग्रह गरेको छ।

स्थानीयवासीहरूले पनि सडक दुर्घटनाको बढ्दो घटनाले त्रास फैलाएको भन्दै सरकारलाई सडक संरचना सुधार, ट्राफिक व्यवस्थापन र यातायात नियमनलाई अझ कडाइ गर्न माग गरेका छन्।

सिन्धुलीमा पछिल्लो समय बढ्दो दुर्घटनाले स्पष्ट सन्देश दिएको छ – सवारी साधन प्रयोग गर्दा सतर्कता र जिम्मेवारीको अभावले जीवन खतरा हुन्छ। सुरक्षित यात्रा सबैको साझा दायित्व हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button