सिन्धुलीमा युवक मृत अवस्थामा फेला, गोली लागेर मृत्यु भएको आशंका
सिन्धुली।
जिल्ला सिन्धुलीमा एक युवक मृत अवस्थामा फेला परेका छन्। मिति २०८२ साल ०९ महिना १४ गते जिल्ला सिन्धुली सुनकोशी गाउँपालिका वडा नं. ५ बन्दिपुर निवासी भिम बहादुर तामाङका छोरा अन्दाजी २२ वर्षका आशमान तामाङ आफ्नो घरदेखि करिब ३ किलोमिटर दक्षिणतर्फ पर्ने घ्याङलेख गाउँपालिका वडा नं. १ स्थित पिउरी खोलाको जङ्गलमा मृत अवस्थामा फेला परेका हुन्।
प्रहरीका अनुसार आशमान तामाङ उत्तानो परेको अवस्थामा नाईटोबाट रगत बगिरहेको अवस्थामा मृत भेटिएको भन्ने सूचना सोही दिन अन्दाजी राति १०:०० बजे प्रहरी चौकी अमले, सिन्धुलीमा प्राप्त भएको थियो। सूचना प्राप्त भएपछि प्रहरी चौकी अमले, इलाका प्रहरी कार्यालय वस्तिपुर तथा इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली तत्काल घटनास्थलतर्फ खटिएको थियो।
घटनास्थलमा गरिएको प्रारम्भिक अनुसन्धानका क्रममा मृतकको पेटको भागमा गोली लागेको देखिएको प्रहरीले जनाएको छ। साथै मृतकको शव नजिकै बीच भागमा भाँचिएको अवस्थामा एक थान भरुवा बन्दुक फेला परेको थियो। मृतकले बोकेको झोलाभित्र निलो रङको बिर्को भएको बट्टामा बारुद जस्तो देखिने कालो रङको धुलो तथा रातो बिर्को भएको बट्टाभित्र बारुद जस्तै देखिने फलाम र सिसाका टुक्रा समेत बरामद गरिएको प्रहरीले जानकारी दिएको छ।
घटनास्थलमा आवश्यक लाश जाँच मुचुल्का सम्पन्न गरी शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिन्धुली ल्याई राखिएको र घटनाको वास्तविक कारण खुलाउन थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।


