सबै

भारी वर्षाले सिन्धुलीमा जनजीवन प्रभावित, बीपी राजमार्गमा आवागमन बन्दाः

सिन्धुली ९ अशोज,

 निरन्तरको वर्षासँगै पहिरो र सडक कटानको जोखिम बढेपछि सिन्धुलीमा जनजीवन प्रभावित बनेको छ। जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहहरूले सतर्कता बढाएका छन् भने प्रहरीले माइकिङमार्फत सर्वसाधारणलाई सचेत गराइरहेको छ।

भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै बीपी राजमार्गमा रातिको समयमा सवारी आवागमन रोकिएको छ। प्रशासनको निर्णयअनुसार असोज ८ देखि ११ गतेसम्म बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म राजमार्गमा आवागमन रोक लगाइएको हो। आवश्यक परे वर्षा, बाढीपहिरो र सडकको अवस्थाअनुसार दिनको समयमा समेत आवागमन रोक्न सकिने जनाइएको छ।

वर्षाका कारण बीपी राजमार्गको रोशी खोला आसपास सडकमा क्षति पुगेको स्थानीयले बताएका छन्। काभ्रे खण्डमा शुक्रबार बिहान पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको प्रहरीले जनाएको छ। अन्य स्थानमा समेत पहिरो र सडक कटानका कारण यातायात प्रभावित भएको छ।

सिन्धुलीका सुनकोशी र तामाकोशी लगायत नदी तथा खोलामा पानीको बहाव सामान्य अवस्थाको तुलनामा बढेको छ। नदी तथा खोलानजिकका बस्तीमा जोखिम बढेकाले स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ। माडी बजार आसपास तथा नदी किनारका बस्तीलाई समेत जोखिमयुक्त क्षेत्रका रूपमा हेरिएको छ।

वर्षाको जोखिमलाई मध्यनजर गर्दै सिन्धुलीका आठ स्थानीय तहले विद्यालय बन्द गरेका छन्। कमलामाई र दुधौली नगरपालिकासहित मरिण, सुनकोशी, गोलञ्जोर, तीनपाटन, घ्याङलेख र फिक्कल गाउँपालिकामा असोज ९ देखि ११ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको छ।

यसैबीच, यात्रु तथा यातायात व्यवसायीसमेत प्रभावित भएका छन्। यतिबेला यात्रु तथा दैनिक उपभोग्य सामान ओसारपसार गर्नेहरूलाई सडक अवरोधका कारण समस्या भएको छ। जोखिमपूर्ण सडकमा यात्रा गर्दा ज्यानको जोखिमसमेत बढेकाले प्रशासन र प्रहरीले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालयअन्तर्गतको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रले समेत बाढी, पहिरो, चट्याङ तथा अन्य विपद्का घटना भए तत्काल जानकारी गराउन आग्रह गरेको छ।

कृर्षि ज्ञान केन्द्र कार्यालय सिन्धुली

Related Articles

Back to top button