गाउँघरका आवाज

बिदा कति दिन होइन, पढाइ कति राम्रो भन्ने प्रश्न अभिभाकमा

सिन्धुली अशोज २-

सरकारी विद्यालयमा शनिबार र आइतबार दुई दिन बिदा दिने विषयलाई लिएर बहस भइरहेका बेला आम नागरिकले भने बिदा कति दिन हुनेभन्दा पनि सरकारी विद्यालयको पढाइ र व्यवस्थापन निजी तथा बोर्डिङ विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने हुनुपर्ने अपेक्षा गरेका छन्।

अभिभावकका अनुसार विद्यार्थीले विद्यालयमा बिताउने समयभन्दा महत्वपूर्ण कुरा उनीहरूले प्राप्त गर्ने शिक्षा र सिकाइ उपलब्धि हो। विद्यालय खुलेका दिनमा नियमित, अनुशासित र प्रभावकारी रूपमा पठनपाठन हुने हो भने बिदाको संख्याले मात्र शिक्षाको गुणस्तर निर्धारण नगर्ने उनीहरूको भनाइ छ।

एक अभिभावकले भने, “हामीलाई शनिबार र आइतबार बिदा भयो वा भएन भन्नेभन्दा पनि बच्चाले विद्यालयमा राम्रो शिक्षा पाओस् भन्ने चाहना हो। सरकारी विद्यालयको पढाइ बोर्डिङभन्दा कमजोर नहोस्, बरु प्रतिस्पर्धामा अगाडि आउन सकोस् भन्ने हाम्रो अपेक्षा हो।”

शिक्षकहरू पनि विद्यालय प्रशासनलाई प्रभावकारी बनाउने, शिक्षकको नियमितता सुनिश्चित गर्ने र विद्यार्थीको सिकाइ उपलब्धिको नियमित मूल्यांकन गर्नुपर्नेमा जोड दिन्छन्। विद्यालय खुलेका दिनमा समयको पूर्ण उपयोग गर्दै पाठ्यक्रम पूरा गर्ने, अतिरिक्त कक्षा सञ्चालन गर्ने तथा कमजोर विद्यार्थीलाई थप सहयोग गर्ने व्यवस्था प्रभावकारी बनाउनुपर्ने उनीहरूको भनाइ छ।

विद्यार्थीहरूका अनुसार पनि राम्रो पढाइ, अनुशासन, प्रविधिको प्रयोग, अतिरिक्त क्रियाकलाप र शिक्षकको नियमित उपस्थितिले विद्यालयप्रतिको आकर्षण बढाउँछ। विद्यालयमा पढाइ राम्रो हुने हो भने बिदाका दिनभन्दा पढाइको गुणस्तर महत्वपूर्ण हुने उनीहरू बताउँछन्।

सरकारी विद्यालयमा राज्यले ठूलो लगानी गर्दै आएको छ। त्यसैले उक्त लगानीको प्रभाव भवन र भौतिक पूर्वाधारमा मात्र नभई विद्यार्थीको सिकाइ, क्षमता र भविष्यमा देखिनुपर्ने नागरिकको अपेक्षा छ।

यसकारण अहिलेको बहस “कति दिन बिदा?” भन्दा “सरकारी विद्यालयलाई कसरी उत्कृष्ट र प्रतिस्पर्धी बनाउने?” भन्ने विषयमा केन्द्रित हुनुपर्ने देखिन्छ। विद्यालय प्रशासनलाई जवाफदेही, शिक्षकलाई नियमित, पठनपाठनलाई व्यवस्थित र सिकाइलाई परिणाममुखी र अविभावकलाई जागरुक बनाउन सके सरकारी विद्यालयप्रति अभिभावकको विश्वास बढ्न सक्छ।

Related Articles

Back to top button