गाउँघरका आवाज

सिन्धुलीको बीपी राजमार्गमा ओखलढुङगा जाने बस दुर्घटना,

सिन्धुली, असोज ३०

सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ स्थित बीपी राजमार्गमा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा ९ जना घाइते भएका छन्।

शुक्रबार दिउँसो करिब १ बजेर ४० मिनेटमा गोलञ्जोर गाउँपालिका–७ स्थित ट्रायल सेन्टर अगाडि काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७७४ नम्बरको बस दुर्घटनामा परेको हो।

प्रहरीका अनुसार राजमार्ग छेउको होटलमा खाना खाएपछि यात्रु चढाएर बस पछाडि सार्ने क्रममा पछाडिको चक्का अचानक नालामा परेपछि बस सडकबाट करिब १० मिटर तल खसेको हो।

दुर्घटनालगत्तै स्थानीयवासी र सुरक्षाकर्मी उद्धारमा जुटेका छन्। हालसम्म उद्धार गरिएका ९ जना घाइतेलाई उपचारका लागि खुर्कोटस्थित शुभजीवन अस्पताल र सुनकोशी सामुदायिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

बसमा कति यात्रु सवार थिए भन्ने यकिन विवरण प्राप्त भइसकेको छैन। दुर्घटनास्थलमा अन्य घाइतेको खोजी तथा उद्धार कार्य जारी रहेको जनाइएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलको नेतृत्वमा प्रहरी टोली परिचालन गरिएको छ।

दुर्घटनामा घाइते भएकाहरूको परिचय र स्वास्थ्य अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ। दुर्घटनाको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

Related Articles

Back to top button