गाउँघरका आवाज

विकास निर्माणमा हरिहरपुरगढीको फड्को : सम्पन्न आयोजनाको उद्घाटन र नयाँ योजनाको शिलान्यास गर्दै अध्यक्ष वाइबा

सिन्धुली, ६ मंसिर।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा गुम्बा, विद्यालय भवन, खानेपानी, स्वास्थ्य संस्था, पक्की पुल तथा सडक पूर्वाधारलगायत ३३ भन्दा बढी विकास आयोजना सम्पन्न भएका छन्। सम्पन्न आयोजनाको उद्घाटन र नयाँ योजनाको शिलान्यासलाई तीव्रता दिने गाउँपालिका अध्यक्ष बज्रध्वज वाइबाले बताउनुभएको छ।

मंसिर ३ गते गाउँपालिका–८ रामचुवामा निर्माण हुने साङ्तेन थर्पेलिङ्गसहित दुईवटा गुम्बाको निर्माण कार्य शिलान्यास गरिएको छ। गाउँपालिका अध्यक्ष वाइबाले वडा नं. ८ का अध्यक्ष धनबहादुर मुक्तानको अध्यक्षतामा आयोजित कार्यक्रममा गुम्बाको शिलान्यास गर्नुभएको हो। कार्यक्रममा वडा नं. ३ का अध्यक्ष कुलबहादुर भोलनलगायत स्थानीयवासीको उपस्थिति थियो।गुम्बाको निर्माण कार्य शिलान्यास

गुम्बा शिलान्यास गर्दै अध्यक्ष बज्रध्वज वाइबा

शिलान्यास कार्यक्रममा अध्यक्ष वाइबाले स्थानीयवासीसँग गुम्बा निर्माण गर्ने प्रतिबद्धताअनुसार आर्थिक वर्ष २०८३/०८४ को स्वीकृत बजेटबाट काम सुरु गरिएको बताउनुभयो। गुम्बाले स्थानीय धार्मिक आस्था, संस्कृति, परम्परा र मौलिक पहिचान संरक्षणमा योगदान पुर्‍याउने उहाँको विश्वास छ।

अध्यक्ष वाइबाका अनुसार गाउँपालिकाका विभिन्न वडामा विद्यालय भवन, खानेपानी आयोजना, स्वास्थ्य चौकी तथा स्वास्थ्य एकाइ भवन, पुल र अन्य पूर्वाधार निर्माणका काम सम्पन्न भएका छन्। कतिपय आयोजना सम्पन्न भएर पनि औपचारिक उद्घाटन हुन बाँकी रहेकाले तिनको उद्घाटन तथा नयाँ योजनाको शिलान्यास गर्ने तयारी गरिएको छ।

शैक्षिक पूर्वाधारतर्फ श्री कालिका प्राथमिक विद्यालय कोक्टफकझ, जीवन ज्योति प्राथमिक विद्यालय जीतपुर, माध्यमिक विद्यालय कर्मीडाँडाको अधुरो भवन, श्री जनता माध्यमिक विद्यालय बफर, ब्रह्मेश्वरी प्राथमिक विद्यालय, जलकन्या प्राथमिक विद्यालय सानो धुम्बे, कुशेश्वर माध्यमिक विद्यालय, कुन्तेश्वरी प्राथमिक विद्यालय, सरस्वती प्राथमिक विद्यालय जमुनी र धनेश्वर प्राथमिक विद्यालय ढौडखोलाका भवन रहेका छन्। जनता माध्यमिक विद्यालय बफरको भवन निर्माणमा स्थानीय ज्ञानबहादुरको पहल रहेको जनाइएको छ।

खानेपानीतर्फ श्री बराडी, हरिहरपुरजीत किल्ला, म्याडी, सिमलदमार, वोटनी–लहरेटोल, राँगे दोभान, सानो धुम्बे–ठूलो धुम्बे र केवलचुली आयोजना रहेका छन्। यीमध्ये केही सम्पन्न भएर उद्घाटनको तयारीमा छन्। वृहत् विलिप खानेपानी आयोजनाअन्तर्गत वडा नं. ४ र २ मा तथा कुण्डा र क्यानचुरे खानेपानी आयोजनाको शिलान्यास गर्ने योजना रहेको छ।

स्वास्थ्य क्षेत्रतर्फ स्वास्थ्य एकाइ केन्द्र, खारखोला स्वास्थ्य एकाइ भवन र महेन्द्रझ्याडी स्वास्थ्य चौकीको शवगृह उद्घाटन गर्न बाँकी छन्। हात्तिसार दमारको मलामी घर पनि उद्घाटनको सूचीमा रहेको छ।

धार्मिक तथा सांस्कृतिक पूर्वाधारतर्फ चौरीटोल, बाखन, गुर्जी, बसम, सिम्रास, घुमाउने छोटन र पटनका गुम्बा, बदुगोलिक चर्च तथा महेश्वर मन्दिर उद्घाटन गर्ने तयारी छ। गुर्जी र प्रताप गुम्बाको शिलान्यास गर्ने योजना रहेको छ। यसैगरी पिता परमेश्वर गुर्दी र पिता परमेश्वर लाटी खोलासम्बन्धी आयोजना तथा अन्य धार्मिक संरचनाको काम अघि बढाइएको गाउँपालिकाले जनाएको छ।

सडक तथा पुल पूर्वाधारतर्फ चारखोला दोभान, सिम्रास–बोटनी, राँगे खोला, भुताहा क्याम्प, क्यानेश्वर–बोटनी र बरमथान क्षेत्रका पुल रहेका छन्। चारखोला दोभान पक्की पुलको शिलान्यास गर्ने तयारी छ भने केही पुल निर्माण सम्पन्न भएर उद्घाटनको पर्खाइमा छन्। क्यानेश्वर–बोटनी र बरमथान क्षेत्रका पुलसम्बन्धी प्रक्रिया सम्बन्धित कार्यालय रामेछापमा रहेकाले ढिलाइ भएको बताइएको छ। धिमिले–राँकेचौर सडकको पनि शिलान्यास गर्ने तयारी छ।

बागमती क्षेत्रको पुलमुनि तारजाली निर्माण र गुर्जी क्षेत्रको कामलाई बहुवर्षीय योजनाका रूपमा अघि बढाउन अर्थ मन्त्रालयसँग समझदारी भएको अध्यक्ष वाइबाले जानकारी दिनुभयो।

पर्यटन प्रवर्द्धनतर्फ गाउँपालिका–६ कौवाडाँडामा पर्यटकीय स्तूप निर्माण गर्ने योजना अघि बढाइएको छ। उक्त स्थानबाट उत्तरतर्फ हिमाल र दक्षिणतर्फ भारतको पञ्जाब क्षेत्रसम्मको दृश्यावलोकन गर्न सकिने भएकाले पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। स्तूप निर्माणका लागि प्रदेश पर्यटन मन्त्रालयबाट ७० लाख रुपैयाँ बजेट ल्याइएको र क्षेत्रलाई वृहत् पर्यटन गन्तव्यका रूपमा विकास गर्न बहुवर्षीय योजनाबारे छलफल भइरहेको अध्यक्ष वाइबाले बताउनुभयो। त्यहाँ सानो बुद्ध प्रतिमा निर्माण गर्ने योजना पनि छ।

त्यसैगरी भाइरल जंगलको उद्घाटन पुसको पहिलो साता वन तथा वातावरणसम्बन्धी केन्द्रीय टोलीको सहभागितामा गर्ने तयारी छ। सरकारी भवनहरूको उद्घाटन मंसिर २३ गते गर्ने कार्यक्रम तय गरिएको छ।

कार्यक्रममा वडा अध्यक्ष धनबहादुर मुक्तानले शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, पुल तथा धार्मिक–सांस्कृतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिएर अघि बढाइएको विकास अभियानको प्रशंसा गर्नुभयो। स्थानीयवासीले पनि गाउँको आवश्यकता र प्राथमिकताअनुसार योजना ल्याउन तथा निर्माण कार्य अघि बढाउन अध्यक्ष वाइबाले देखाउनुभएको पहलप्रति धन्यवाद व्यक्त गरेका छन्। विकास आयोजनाले स्थानीयको दैनिक जीवन सहज बनाउनुका साथै धार्मिक, सांस्कृतिक र आर्थिक गतिविधिमा सहयोग पुग्ने उनीहरूको अपेक्षा छ।

हरिहरपुरगढी गाउँपालिकाले सम्पन्न आयोजनाको उद्घाटन, निर्माणाधीन योजनाको निरन्तरता र नयाँ योजनाको शिलान्यासलाई सँगसँगै अघि बढाउने तयारी गरेको छ।

Related Articles

Back to top button