डिभिजन वन कार्यालय मरिणद्वारा ६ कराेड बढि राजश्व संकलन
वन व्यवस्थापन, राजस्व संकलन र दिगो वन व्यवस्थापनमा उल्लेख्य प्रगति७
श्रावण,७ सिन्धुली-
डिभिजन वन कार्यालय, मरिणले आर्थिक वर्ष २०८२/०८३ को हालसम्मको प्रगति विवरण सार्वजनिक गरेको छ। कार्यालयका अनुसार वन व्यवस्थापन, राजस्व संकलन, काठ तथा दाउरा उत्पादन–बिक्री, बिरुवा वितरण, वन मुद्दा व्यवस्थापन तथा दिगो वन व्यवस्थापनका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल गरेको छ।
कार्यालयले हालसम्म वन क्षेत्रबाट कुल ६ करोड ५८ लाख १७ हजार २५२ रुपैयाँ ८८ पैसा राजस्व संकलन गरेको जनाएको छ। यसमध्ये सामुदायिक वनबाट ६ करोड ४२ लाख ६५ हजार ४७२ रुपैयाँ तथा निजी वन/निजी आवादीबाट करिब १५ लाख ५१ हजार ७८० रुपैयाँ राजस्व संकलन गरेको छ। त्यस्तै, काठ उत्पादनतर्फ सामुदायिक वनबाट २ लाख ९९ हजार १७४.१९ क्यूफिट काठ उत्पादन भएको छ भने निजी वनबाट २६ हजार ९०१.०४ क्यूफिट काठ उत्पादन भएको कार्यालयले जनाएको छ।
उत्पादन भएकाे काठ मध्ये गत आर्थिक बर्षमा सामुदायिक बनकाे २ लाख ४८ हजार ५८० क्युफिट र निजि आवादीबाट २६ हजार ९०१ क्यूफिट गरि कुल २ लाख ७५ हजार ४८१ क्यूफिट काठ बिक्रि भएको कार्यालयले जनाएकाे छ ।
वन संरक्षण तथा वृक्षारोपण कार्यक्रमअन्तर्गत हालसम्म ५० हजार ३४१ वटा बिरुवा वितरण गरिएको छ। वितरण गरिएका बिरुवामा तेजपात, अमला, सिसौ, टाँकी, गुलमोहर, बिरुल, चुरा, कनारी, कल्की, बाँस र खयर लगायतका प्रजाति रहेका छन्।
कार्यालयका अनुसार हालसम्म वनसम्बन्धी ३ वटा, फँडानीसम्बन्धी ३ वटा मुद्दा दर्ता भएका छन् भने वन्यजन्तुसम्बन्धी कुनै मुद्दा दर्ता भएको छैन।
त्यस्तै वन क्षेत्रबाट ८६ हजार ४६० मानव-दिन बराबरको रोजगारी सिर्जना भएको प्रगतिमा उल्लेख गरिएको छ।
कार्य योजना नवीकरणतर्फ यस आर्थिक वर्षमा ३७ वटा सामुदायिक वन तथा २५ वटा कबुलियती वन को कार्ययोजना नवीकरण गरिएको छ। त्
यसैगरी, दिगो वन व्यवस्थापन कार्यक्रम अन्तर्गत ६ वटा सामुदायिक वन मा व्यवस्थापन लागू भई १ हजार २८४.५८ हेक्टर क्षेत्र समेटिएको छ। समग्रमा दिगो वन व्यवस्थापन लागू भएका सामुदायिक वनको संख्या ५८ पुगेको छ भने कुल क्षेत्रफल २४ हजार ४०१.६३ हेक्टर पुगेको कार्यालयले जनाएको छ।
डिभिजन वन कार्यालय मरिणले वन स्रोतको दिगो उपयोग, संरक्षण तथा स्थानीय समुदायको आयआर्जन र रोजगारी वृद्धि गर्ने लक्ष्यअनुसार कार्यक्रमहरू प्रभावकारी रूपमा अघि बढाईरहेको बरिष्ठ डिभिजनल बन अधिकृत कृष्ण प्रसाद न्याैपानेले बताउनुभयो।




