सिन्धुलीमा एक वर्षमा १४६ सवारी दुर्घटना, २६ जनाको मृत्यु
सिन्धुली,११ श्रावण –
जिल्लाभर गत आर्थिक वर्ष २०८२/२०८३ मा १ सय ४६ पटक सवारी दुर्घटना भएको प्रहरी तथ्यांक छ । यी त प्रहरीको अभिलेखमा आएका दुर्घटना भए । प्रहरीलाई जानकारी नभएका दुर्घटना पनि थुप्रै हुन सक्छन् ।
सानातिना ठक्कर लाग्ने, आफैँ उपचार गराउने, चालक सवारी साधन लिएर भाग्ने, नभेटिने, घटनास्थलमै मिलाउने काम प्रहरी अभिलेखमा आइपुग्दैन ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीको वार्षिक प्रतिवेदन अनुसार दुर्घटनामा परि २६ जनाको मृत्यु भएको छ भने ३२३ जना घाइते भएका छन्। घाइतेमध्ये ३४९ जनाको उद्धार गरिएको छ।
पछिल्लाे तीन आर्थिक वर्षको तुलना गर्दा सवारी दुर्घटनाको सङ्ख्या घट्दो देखिएको छ । आर्थिक वर्ष २०८०/०८१ मा १७५ वटा दुर्घटनामा २५ जनाको मृत्यु, १०७ जना गम्भीर घाइते र २८९ जना सामान्य घाइते भएका थिए ।
आर्थिक वर्ष २०८१/०८२ मा दुर्घटनाको सङ्ख्या बढेर २०५ पुगेको थियो । उक्त वर्ष ३० जनाको मृत्यु, २४३ जना गम्भीर घाइते र ४३० जना सामान्य घाइते भएका थिए । तर आर्थिक वर्ष २०८२/०८३ मा दुर्घटनाको सङ्ख्या घटेर १४६ मा झरेको छ ।
प्रहरीका अनुसार दुर्घटनाका मुख्य कारणमा मौसमी प्रभाव (हुस्सु, कुहिरो), चालकको लापरबाही, तीव्र गति, मादक पदार्थ सेवन तथा साँघुरा र घुमाउरा सडक रहेकाे विश्लेषण छ । पैदलयात्रीको अज्ञानता वा हतार गर्नु, क्षमताभन्दा बढी यात्रु राखेर सवारी चलाउनु, पुरानो मर्मतसम्भार नभएका सवारी साधन चलाउनु, सडकको अवस्था लगायत धेरै कारणले सडक दुर्घटना हुने गरेका छन ।
यस्तै, ट्राफिक नियम उल्लङ्घन गर्ने ९ हजार ९ सय ४१ वटा सवारी साधनलाई कारबाही गरिएको र त्यसबाट रु. ९९ लाख ४६ हजार ५१६ राजस्व संकलन भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।



