पूर्व सुरक्षा कर्मी परिषद नेपाल सिन्धुलीद्वारा नयाँ वर्षको शुभकामना आदान–प्रदान कार्यक्रम गरियो
सिन्धुली, २ बैशाष –
पूर्व सुरक्षा कर्मी परिषद नेपाल, सिन्धुलीको आयोजनामा आज ढुङ्ग्रेवासस्थित अनमोल होटलमा नयाँ वर्ष २०८३ को शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा परिषदका केन्द्रीय बरिष्ठ उपाध्यक्ष पुष्कर गौतम तथा केन्द्रीय उपाध्यक्ष उत्तर कुमार श्रेष्ठको विशेष उपस्थिति रहेको थियो। साथै जिल्ला सह-संयोजक हरि बहदुर खड्का सहित विभिन्न पूर्व सुरक्षा कर्मी तथा सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रमको प्रारम्भमा जिल्ला संयोजक वाशुदेव श्रेष्ठकी ममतामयी आमाको निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरिएको थियो। त्यसपछि नयाँ वर्ष २०८३ को अवसरमा सहभागीहरूबीच शुभकामना आदान–प्रदान गरिएको थियो।

कार्यक्रममा सहभागीहरूले पूर्व सुरक्षा कर्मीहरूको हक–हित, पहिचान र सशक्तिकरणका विषयमा आफ्ना धारणा राखेका थिए। मन्तव्य राख्ने क्रममा परिषदका सदस्य बलबहादुर विश्वकर्माले परिषदलाई पूर्व सुरक्षा कर्मीहरूको अधिकार सुनिश्चित गराउने सशक्त संस्थाका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिए। उनले शहरदेखि गाउँसम्म परिषदको पहिचान विस्तार गर्नुपर्ने र अप्ठ्यारो अवस्थामा एक–अर्काको साथ दिने संस्था बनाउनुपर्ने धारणा व्यक्त गरे। उहाँ हाल सञ्चारकर्मी तथा कृषि सहकारीका अध्यक्ष समेत रहेका छन्।
कार्यक्रममा बोल्दै केन्द्रीय उपाध्यक्ष उत्तर कुमार श्रेष्ठले पूर्व सुरक्षा कर्मीहरूको एकता र संगठन निर्माण परिषदको मुख्य उद्देश्य‚ काम र कर्तव्यमाथी प्रकाश पार्नु भयो । उनले परिषदमा कुनै राजनीतिक हस्तक्षेप नहुने स्पष्ट पार्दै सामाजिक कार्यमार्फत पूर्व सुरक्षा कर्मीहरूको पहिचान स्थापित गर्नुपर्ने बताए। साथै प्राकृतिक विपद्, आपतकालीन अवस्था तथा राष्ट्रिय सवालहरूमा परिषदलाई अग्रपंक्तिमा उभ्याउनुपर्ने धारणा व्यक्त गरे।
त्यसैगरी केन्द्रीय बरिष्ठ उपाध्यक्ष पुष्कर गौतमले परिषद जनपद प्रहरी, सशस्त्र प्रहरी, अनुसन्धान, नेपाली सेना, भारतीय सेना, ब्रिटिश सेना तथा सिंगापुर आर्मीबाट सेवा निवृत्त भएका सातै प्रकारका पूर्व सुरक्षा कर्मीहरूको साझा संस्था भएको बताए। उनले देशसेवा गरेर फर्किएका सुरक्षाकर्मीहरूलाई एकताबद्ध गर्दै उनीहरूको हक–हितका लागि काम गर्ने, भ्रष्टचारको निराकरण गर्न नेपाल सरकालाई सहयोग गर्ने सक्षम नागरिक तथा नेतृत्व विकास गर्ने र आवश्यकता परेको अवस्थामा राष्ट्रको संरक्षणमा अग्रसर हुने लगाएत परिषदको उद्देश्य रहेको स्पष्ट पारे।
कार्यक्रममा पत्रकार बुद्धकुमार आछामीले सुरक्षा गार्डसम्बन्धी कन्सल्टेन्सी प्रणाली अन्त्य गर्नुपर्ने सुझाव दिए । उनले पूर्व सुरक्षा कर्मीहरूलाई न्यून पारिश्रमिकमा काम गराउने प्रवृत्तिको अन्त्य गरी सरकारले तोकेको न्यूनतम पारिश्रमिक सुनिश्चित गर्नुपर्नेमा जोड दिए।
कार्यक्रम समापन गर्दै आयोजकहरूले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण पूर्व सुरक्षा कर्मी तथा नागरिकहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका थिए।



