आशा टुटेपछि काजक्रियामा परिवार
सिन्धुली २६,
सुनकोशी नदीमा खसेर बेपत्ता भएको कारमा सवार गणेश थापा फेला नपरे पछी आफन्त काजक्रिया गर्न लागेका छन्।
कारमा सवार ३ जनाको खोजी गर्दा फेला नपरेपछि ८ दिनको दिन हिजो मंगलबार देखी गणेश थापाका आफन्त मृत्यु संस्कार गर्न थाल्नु भएको छ ।
साउन १८ गते सिन्धुलीको फिक्कल गाउँपालिका–२, नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा काठमाडौंबाट ओखलढुङ्गातर्फ जाँदै गरेको बा.प्र.०८–००१ ख ०१४४ नम्बरको बसले सडक किनारमा रोकिराखेको प्रदेश ३–०१–०२४ च ९५७३ नम्बरको कारलाई ठक्कर दिएको थियो। ठक्करपछि कार सडकबाट करिब ५० फिट तल सुनकोशी नदीमा खसेको थियो।
दुर्घटनापछि कारमा सवार तीन जना बेपत्ता भएका थिए। बेपत्ता हुनेमा सिन्धुपाल्चोकका करिब ३९ वर्षीय दिलकुमार लामा, सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ निवासी करिब २७/२८ वर्षीय स्काइभेटर चालक गणेश थापा र तीनपाटन गाउँपालिका–९ निवासी सुरज रहेको परिवारले जनाएको छ।
दुर्घटनापछि नेपाल प्रहरीको गोताखोर टोली, स्थानीय तथा अन्य सुरक्षाकर्मीले सुनकोशी नदीमा निरन्तर खोजी तथा उद्धार प्रयास गरे पनि कार र बेपत्ता व्यक्तिहरूको अवस्था पत्ता लाग्न सकेको छैन। नदीको तीव्र बहाव, गहिराइ तथा भौगोलिक अवस्थाका कारण खोजी कार्य चुनौतीपूर्ण बनेको बताइएको छ।
आठ दिनसम्मको खोजीका क्रममा समेत कार फेला नपरेपछि गणेश थापाका आफन्तले उनीसहित कारमा रहेका तीनै जना जीवित नरहेको निष्कर्षसहित काजक्रियाको विधि सुरु गरेका हुन्। परिवारले दुर्घटनामा संलग्न पक्ष तथा सम्बन्धित यातायात समितिका अध्यक्षसँग सहमति गरी काजक्रियाको प्रक्रिया अघि बढाएको जनाइएको छ।
गणेश गोलन्जोर गाउँपालिका–१ का स्थानीय भएकाले घटनाले गाउँमा शोकको वातावरण सिर्जना गरेको छ। गणेशका आफन्तले लामो समयसम्म खोजी गर्दा पनि शव वा कार फेला नपरेपछि धार्मिक तथा सामाजिक परम्पराअनुसार काजक्रियाको प्रक्रिया अघि बढाउनुपरेको बताएका छन्।
घटनाप्रति दुःख व्यक्त गर्दै गोलन्जोर गाउँपालिका–१ का वडाध्यक्ष शोमप्रसाद बरालले भने, “गणेश यस वडाको हुनुहुन्थ्यो। उहाँसहित तीन जना बेपत्ता भएको घटना अत्यन्त दुःखद् छ । लामो समयसम्म खोजी गर्दा पनि कार र बेपत्ता व्यक्तिहरूको अवस्था पत्ता लाग्न नसक्नु परिवार र गाउँवासीका लागि निकै पीडादायी भएको छ। खोजीका लागि सुरक्षाकर्मी र स्थानीय तहबाट सक्दो प्रयास भए पनि सफलता प्राप्त हुन सकेन। परिवारले बाध्य भएर काजक्रियाको प्रक्रिया अघि बढाउनुपरेको अवस्थाप्रति हामी अत्यन्त दुःखी छौँ।”



