गोलञ्जोर अस्पतालमा चौबिसै घण्टा सेवा, बिहीबारदेखि पोस्टमार्टम पनि
सिन्धुली ,१४ अशोज
, ग्वाल्टारस्थित गोलञ्जोर आधारभूत अस्पतालले चौबिसै घण्टा सेवा सुरु गरेसँगै बिहीबारदेखि पोस्टमार्टम सेवा पनि सञ्चालन गर्ने भएको छ। सेवा विस्तारसँगै गोलञ्जोरसहित फिक्कल, सुनकोशी तथा छिमेकी जिल्ला रामेछाप, ओखलढुङ्गा र खोटाङका सीमावर्ती क्षेत्रका नागरिकलाई सहज हुने भएको छ।
‘एक स्थानीय तह, एक आधारभूत अस्पताल’ सरकारको नीतिअनुसार गत असोज ५ गतेदेखि १५ शय्यामा सञ्चालनमा आएको अस्पतालले मङ्सिर १ गतेदेखि पाँच शय्याको आकस्मिक कक्षसहित चौबिसै घण्टा सेवा सुरु गरेको हो। अस्पतालमा फार्मेसी, एक्स–रे, भिडियो एक्स–रे र प्रयोगशाला सेवा नियमित सञ्चालनमा छन्।
यसअघि यस क्षेत्रका मृतकको पोस्टमार्टमका लागि सिन्धुलीमाढी वा रामेछापसम्म लैजानुपर्ने बाध्यता थियो। आफ्नै क्षेत्रमा पोस्टमार्टम सेवा सुरु भएपछि स्थानीयलाई समय र खर्चमा राहत पुग्ने गाउँपालिकाले जनाएको छ।
गाउँपालिका अध्यक्ष शङ्करराज बरालका अनुसार अस्पतालमा हाल एक जना एमबिबिएस चिकित्सकसहित सेवा सञ्चालन भइरहेको छ। अस्पतालका लागि कार्यालय सहयोगीबाहेक ३२ कर्मचारीको दरबन्दी स्वीकृत भएको छ भने पूर्ण सञ्चालनपछि नौ जना विशेषज्ञ चिकित्सक रहने व्यवस्था गरिएको छ।
मध्यपहाडी लोकमार्गको पहुँचमा रहेको अस्पतालबाट स्थानीयस्तरमै स्वास्थ्य सेवा विस्तार भएपछि नागरिकलाई उपचारका लागि टाढा जानुपर्ने बाध्यता क्रमशः घट्ने अपेक्षा गरिएको छ।



