गाउँघरका आवाज

सिन्धुलीमा बजार अनुगमन : म्याद गुज्रेका सामान पसल कारबाहीमा

सिन्धुली १५ अशोज,

 चाडपर्व नजिकिँदै गर्दा सिन्धुलीमा बजार अनुगमन तीव्र पारिएको छ। उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षणका लागि हरिहरपुरगढी गाउँपालिकाका विभिन्न बजार क्षेत्रमा गरिएको संयुक्त अनुगमनका क्रममा म्याद गुज्रेका सामान बिक्रीका लागि राखिएको भेटिएपछि दुई पसल कारबाहीमा परेका छन्।

हरिहरपुरगढी गाउँपालिका–२ मा १२ गते चैनपुरस्थित वर्णवाल सप्लायर्स र वडा नं. ४ महेन्द्रझ्याडीस्थित उत्तम किराना पसलबाट बिक्रीका लागि राखिएका म्याद गुज्रेका सामान बरामद गरिएको हो। अनुगमन टोलीका अनुसार वर्णवाल सप्लायर्सबाट करिब ४७ हजार ५ सय रुपैयाँ बराबरका म्याद गुज्रेका सामान जफत गरी २ लाख ५० हजार रुपैयाँ जरिवाना गरिएको छ। त्यस्तै, उत्तम किराना पसलबाट करिब ८ हजार रुपैयाँ बराबरका सामान जफत गरी १५ हजार रुपैयाँ जरिवाना गरिएको छ।

जिल्ला प्रशासन कार्यालय सिन्धुली, हरिहरपुरगढी गाउँपालिका, उद्योग वाणिज्य पर्यटन तथा यातायात कार्यालय र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको संयुक्त टोलीले वडा नं. २ र ४ अन्तर्गत मदन भण्डारी लोकमार्ग आसपासका होटल तथा पसल गरी ९ वटा व्यवसायमा अनुगमन गरेको हो। व्यवसाय दर्ता, प्यान, अन्तःशुल्क, बिक्री बिल, खाद्य अनुज्ञापत्र, खाद्यवस्तुको गुणस्तर, ग्यासको तौल तथा मूल्य, खरिद बिल र यसअघि दिइएका निर्देशनको पालना भए–नभएको समेत जाँच गरिएको थियो।

उपभोक्ता संरक्षण ऐन, २०७५ ले उपभोग गर्न नसकिने गुणस्तरहीन वस्तु बिक्री गर्न तथा उपभोग अवधि समाप्त भइसकेको वस्तु बिक्री गर्न निषेध गरेको छ। ऐनले मानव स्वास्थ्यलाई हानि हुने गरी सडेको, गलेको वा दूषित वस्तुलाई समेत गुणस्तरहीन वस्तुका रूपमा परिभाषित गरेको छ। यस्ता कार्य कसुरमा पर्न सक्छन् र कसुरको प्रकृतिअनुसार कैद तथा जरिवानाको व्यवस्था छ।

त्यस्तै, सरकारले तोकेको अधिकतम मूल्यभन्दा बढीमा अत्यावश्यक वस्तु बिक्री गर्न नपाइने व्यवस्था ऐनमा छ। लागत तथा कानुनले तोकेको व्यवस्थाभन्दा बढी मुनाफा लिएर बिक्री वितरण गर्नसमेत रोक लगाइएको छ। मूल्य, गुणस्तर वा नापतौलमा उपभोक्तालाई झुक्याएर वस्तु बिक्री गर्नु पनि अनुचित व्यापारिक क्रियाकलाप मानिन्छ।

ऐनअनुसार नेपाल सरकारले तोकेको मूल्यभन्दा बढीमा बिक्री गरेको कसुरमा कैद वा जरिवाना वा दुवै हुन सक्ने व्यवस्था छ। गुणस्तरहीन वस्तु बिक्रीलगायत अन्य कसुरमा कसुरको प्रकृतिअनुसार अझ बढी सजाय हुनसक्ने कानुनी व्यवस्था रहेको छ।

चाडपर्वका बेला उपभोग्य वस्तुको कारोबार बढ्ने भएकाले बजार अनुगमनलाई नियमित र प्रभावकारी बनाउनुपर्ने देखिएको छ। साथै उपभोक्ताले सामान खरिद गर्दा म्याद, मूल्य, लेबल र बिल जाँच गरेर मात्र खरिद गर्न तथा समस्या देखिए सम्बन्धित निकायमा उजुरी गर्न सकिने छ ।

Add a heading – 1

Related Articles

Back to top button