सिन्धुलीमाढीमा खाद्य अनुगमन, ३ हजार २८० मुल्य बराबरको बस्तु म्याद गुज्रिएको सामान फेला परोः
सिन्धुलीमाढी, असोज १६–
चाडपर्व नजिकिँदै गर्दा उपभोक्ताको स्वास्थ्य र खाद्य सुरक्षालाई ध्यानमा राखेर सिन्धुलीमाढी २ नं, बजारमा खाद्य तथा किराना पसल, खुद्रा र थोक विक्री केन्द्रहरुको अनुगमन गरिएको छ। अनुगमनका क्रममा १७ वटा पसल अनुगमन गर्दा केही पसलहरुबाट करिव ३ हजार २८० रुपैयाँ बराबरका म्याद गुज्रिएका सामान फेला परेका छन्।

सहायक जिल्ला अधिकारीको संयोजकत्वमा, खाद्य प्रविधि तथा गुण नियन्त्रण इकाइ कार्यालय , जिल्ला प्रहरी कार्यालय उद्योग वाणिज्य संघ र कमलामाई नगरपालिकाको संयुक्त टोलीले बजारका खाद्य किराना, खुद्रा तथा थोक पसल र सप्लायर्समा अनुगमन गरेको हो।
सिन्धुलीमा चाडपर्वका बेला खाद्यान्न तथा उपभोग्य वस्तुको कारोबार बढ्ने भएकाले बजारमा नियमित अनुगमन हुने गरेको छ ।
सिन्धुलीमा यसअघि करिब छ महिनाअघि पनि बजार अनुगमन गरिएको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रणसम्बन्धी निकायले जिल्लामा समय–समयमा खाद्यवस्तुको गुणस्तर र स्वच्छता परीक्षण तथा निरीक्षण गर्दै आएको छ। केही दिनअघि हरिहरपुरगढीमा गरिएको अनुगमनका क्रममा दुईवटा पसल कारबाहीमा परेको थियो ।
नेपालको उपभोक्ता संरक्षण एन,२०७५ ले उपभोक्तालाई गुणस्तरीय वस्तु प्राप्त गर्ने तथा मानव स्वास्थ्यमा हानि पुर्याउने वस्तुको बिक्रीबाट सुरक्षित रहने अधिकार सुनिश्चित गरेको छ। ऐनको दफा १६ ले अनुचित व्यापारिक क्रियाकलापलाई निषेध गरेको छ। उपभोग अवधि सकिएका वस्तु बिक्री गर्ने तथा उपभोग गर्न नमिल्ने गुणस्तरहीन वस्तु बिक्री गर्ने कार्य कानुनविपरीत हुन्छ। त्यस्तै, खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी विषयमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ पनि रहेको छ ।
उपभोक्ताले सामान खरिद गर्दा उत्पादन मिति, उपभोग्य मिति, मूल्य र प्याकेटको अवस्था जाँच गर्नुपर्ने देखिन्छ। अनुचित विक्री भए गरेको थाहा पएमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई उजुरी तथा जानकारी गराउन पर्दछ ।



