भारी वर्षासँगै सिन्धुलीसहित देशभर उच्च सतर्कता, बीपी राजमार्ग अवरुद्ध
सिन्धुली अशोज १०
लगातारको वर्षासँगै बाढी, पहिरो, डुबान र हावाहुरीको जोखिम बढेपछि सिन्धुलीसहित देशका विभिन्न जिल्लामा उच्च सतर्कता अपनाइएको छ। स्थानीय तहदेखि जिल्ला प्रशासन र सुरक्षा निकायसम्मले सम्भावित विपद्बाट हुने क्षति न्यूनीकरणका लागि आवश्यक तयारी थालेका छन्।
जल तथा मौसम विज्ञान विभागले शुक्रबार दिउँसोदेखि शनिबार बिहानसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जनाएको छ। विभागले तीव्र हावाहुरीको समेत सम्भावना रहेकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन तथा सुरक्षित स्थानमा बस्न सर्वसाधारणलाई आग्रह गरेको छ।
वर्षाका कारण त्रिशूली, रोशी, तमोर र सप्तकोशीलगायत नदीमा पानीको सतह बढ्न सक्ने चेतावनी दिइएको छ। नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
यसैबीच, बाढी र पहिरोका कारण बीपी राजमार्गमा यातायात प्रभावित भएको छ। रोशी खोलामा आएको बाढी तथा विभिन्न स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। राजमार्गको अवस्था प्रतिकूल रहेकाले यात्रुलाई यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न प्रशासनले आग्रह गरेको छ।
काठमाडौं उपत्यकामा मनोहरा र बल्खुलगायत खोलामा जलसतह बढेको छ। मनोहरा क्षेत्रमा पुल भासिएपछि आवागमन प्रभावित भएको छ भने बानेश्वरलगायतका क्षेत्रमा डुबानको जोखिम देखिएको छ।
यता, तराई तथा लुम्बिनी क्षेत्रमा समेत भारी वर्षा भइरहेको छ। सर्लाही, धनुषा, रौतहट, सुनसरीलगायत जिल्लामा डुबानको जोखिम बढेकाले स्थानीय प्रशासनले नदी तथा खोलाको किनार र जोखिमयुक्त क्षेत्रमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रशासनले मौसमको अवस्था निरन्तर निगरानीमा राख्दै विपद् उत्पन्न भए तत्काल सम्बन्धित सुरक्षा निकाय वा स्थानीय तहमा खबर गर्न आग्रह गरेको छ।




