खुर्कोटमा राजस्व छलीको सामानसहित पिकअप नियन्त्रणमा
सिन्धुली, माघ १८
सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–७ खुर्कोट बजारस्थित चेकपोइन्टमा सवारी साधन चेकजाँचका क्रममा राजस्व छली गरी ल्याइएको ठूलो परिमाणको सामानसहित एक पिकअप गाडी प्रहरीले नियन्त्रणमा लिएको छ।
इलाका प्रहरी कार्यालय खुर्कोटका अनुसार माघ १६ गते राति करिब ९ बजे वि.पी. राजमार्ग हुँदै आवतजावत गर्ने सवारी साधनको नियमित जाँचका क्रममा शंकास्पद बिलसहित सामान बोकेको बागमती प्रदेश ०१–०२७ च ७२४७ नम्बरको योद्दा पिकअप रोकी जाँच गरिएको थियो। जाँचका क्रममा पिकअपमा लोड गरिएका सामानहरूको वास्तविक मूल्यभन्दा कम दररेट उल्लेख गरी शंकास्पद बिल तयार गरिएको पाइएपछि प्रहरीले गाडी, सामान तथा चालकलाई नियन्त्रणमा लिएको जनाएको छ।

नियन्त्रणमा लिइएको पिकअप सिन्धुलीको कमलामाई नगरपालिका–१ निवासी रमेश बहादुर सार्कीका छोरा अन्दाजी २०/२३ वर्षीय निरोज कोईराला सार्कीले चलाइरहेका थिए। प्रारम्भिक अनुसन्धानबाट पिकअपमा विभिन्न ब्रान्डका प्रेशर कुकर, इलेक्ट्रिक सामग्री तथा भाँडाकुँडा अवैध रूपमा ओसारपसार गरिएको आशंका गरिएको छ।
प्रहरीले पिकअपमा ५ लिटर क्षमताका विभिन्न ब्रान्डका प्रेशर कुकर १९७ थान, ३ लिटर क्षमताका कुकर ९५ थान, २ लिटर क्षमताका कुकर ३७ थान, साथै इलेक्ट्रिक जग, राइस कुकर, ईस्टिल टिफिन बक्स, ईस्टिलका थाल र तामाजस्तो देखिने गिलासहरू बरामद गरेको छ। बरामद सामग्रीको परिमाण ठूलो भएकाले राजस्व छलीको गम्भीर आशंका गरिएको प्रहरीले जनाएको छ।
नियन्त्रणमा लिइएका गाडी, सामान तथा चालकलाई इलाका प्रहरी कार्यालय खुर्कोटमा ल्याई आवश्यक अनुसन्धान गरिएको थियो। अनुसन्धान पश्चात् आज सबै सामग्रीसहित राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको इलाका प्रहरी कार्यालय खुर्कोटले जानकारी दिएको छ।
घटनाबारे थप अनुसन्धान राजस्व अनुसन्धान कार्यालयबाट भइरहेको छ। प्रहरीका अनुसार राजस्व छलीसम्बन्धी कसुर पुष्टि भएमा प्रचलित कानुन बमोजिम आवश्यक कानुनी कारबाही अगाडि बढाइने छ।




