कमलामाई नगरपालिकामा खाजा खाने समयमा पनि सेवा नरोकिने सुचना ।

सिन्धुली, १८ — कमलामाई नगरपालिका कार्यालयले सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउने उद्देश्यले कार्यालय समय तथा खाजा समयमै समेत सेवा अवरोध नहुने गरी व्यवस्था मिलाएको जनाएको छ। नगर कार्यपालिकाको कार्यालयद्वारा जारी सूचनामा कर्मचारीहरूले निरन्तर रूपमा सेवा प्रवाह गर्ने उल्लेख गरिएको छ।
यसअघि सरकारी कार्यालयहरूमा दिउँसो १:३० बजेदेखि २:०० बजेसम्म खाजा समयका कारण सेवा अवरुद्ध हुने गरेको थियो। यसले विशेष गरी टाढाबाट सेवा लिन आएका सेवाग्राहीलाई समस्या पर्ने गरेको गुनासो बढ्दै आएको थियो।
भर्खरै गठन भएको नयाँ सरकारले सेवाग्राहीले खाजा समयमा पर्खिनुपर्ने अवस्थाको अन्त्य गर्ने नीति अघि सारेसँगै कमलामाई नगरपालिकाले यस्तो व्यवस्था लागू गरेको हो। अब खाजा समयमै पनि कर्मचारीहरू पालैपालो खाजा खाने गरी सेवा निरन्तर सञ्चालन हुने बताइएको छ।
यस व्यवस्थाप्रति स्थानीय बासिन्दाले सकारात्मक प्रतिक्रिया जनाएका छन्। कमलामाई–१४ का एक सेवाग्राहीले भने, “पहिले खाजा समय परेपछि घण्टौं कुर्नुपर्थ्यो, अब भने काम छिटो हुने अपेक्षा छ।” यस्तै, अर्का एक नगरबासीले “टाढाबाट आउनेहरूका लागि यो निर्णय निकै उपयोगी छ, यसले समय र खर्च दुवै बचत गर्छ” भन्दै स्वागत गरेका छन्।
नगरपालिकाले यस कदमबाट सेवाग्राहीलाई छिटो, सहज र प्रभावकारी सेवा उपलब्ध हुने विश्वास व्यक्त गरेको छ। साथै, नागरिकमैत्री सेवा प्रवाहलाई थप सुदृढ बनाउने दिशामा यो व्यवस्था महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।



