खुर्कोटमा लापसे चेकिङ : ४ चालक पोजिटिभ, प्रहरीद्वारा कडाइसहित कारबाही
सिन्धुली— जिल्लामा पछिल्ला समयमा सवारी दुर्घटना बढ्दै गएकाले सिन्धुलीका राजमार्गमा सवारी साधनलाई कडाईका साथ चेकजाक र गर्न थालेको छ । दुर्घटना न्यूनीकरणका उद्देश्यले गोलन्जोर गाउँपालिका–०७, खुर्कोटमा विशेष लागु पदार्थ सेवन (लापसे) चेकजाँच सञ्चालन गरिएको छ।
बिहिवार बिहान ९ बजेदेखि १२:३० बजेसम्म जनस्वास्थ्य कार्यालय सिन्धुली, जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालय खुर्कोटको संयुक्त समन्वयमा तल्लो बजारस्थित रिफ्रेस सेन्टरमा सो चेकजाँच कार्यक्रम सम्पन्न गरिएको थियो।

चेकजाँचको क्रमा बि.पि. राजमार्ग हुँदै सञ्चालनमा रहेका ट्रक, बस, माइक्रो, सुमो, ई–भ्यान र पिकअप गरी ४० सवारी चालकको THC Rapid Test गरिएको जनाइएको छ। परीक्षणका लागि ४१ किट प्रयोग गरिएकोमा ४ जना चालकमा लागुपदार्थ सेवन पोजिटिभ देखिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ
पोजिटिभ देखिएका चालकलाई तत्काल नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय खुर्कोटले आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ।
ट्राफिक प्रहरीले बि.पि. राजमार्गमा पछिल्लो समय गतिशीलता, गति नियन्त्रण उल्लंघन र चालकको लापरबाहीका कारण दुर्घटना बढ्दै गएको बताउँदै लागू पदार्थ सेवनजस्ता जोखिमपूर्ण कारण नियन्त्रणका लागि कडाइ र निरन्तर चेकजाँच बढाइएको छ।
जनस्वास्थ्य कार्यालय र ट्राफिक प्रहरीको संयुक्त टोलीले आगामी दिनमा यस्तो चेकजाँच नियमित रूपमा अन्य संवेदनशील स्थानहरूमा पनि जारी राखिने जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले बताएका छन्।
यसले दुर्घटना रोकथाम, चालकमा सचेतना र यात्रुको सुरक्षा सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने छ।


