साइबर अपराध न्यूनीकरण सचेतना कार्यक्रम हरिहरपुरगढी र मरिणका विद्यालयमा सम्पन्नः
सिन्धुली, १५ जेठ –
डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै साइबर अपराध तथा अनलाइन ठगीका घटना वृद्धि हुन थालेपछि सिन्धुलीका हरिहरपुरगढी गाउँपालिका र मरिण गाउँपालिकाका विद्यालयहरूमा “साइबर अपराध न्यूनीकरण सचेतना कार्यक्रम” सम्पन्न गरिएको छ। कार्यक्रम विजय किल्ला मिडिया प्रा.लि.ले सम्बन्धित गाउँपालिकासँगको समन्वयमा आयोजना गरेको हो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक (डीएसपी) सूर्यप्रकाश सुवेदी र अधिवक्ता यादव आचार्यले विद्यार्थी तथा शिक्षकहरूलाई साइबर अपराधका जोखिम, कानुनी व्यवस्था तथा सुरक्षाका उपायबारे प्रशिक्षण दिनुभएको थियो।
डीएसपी सुवेदीले फेक आइडी, फिसिङ, अनलाइन ठगी, साइबर बुलिङ, सामाजिक सञ्जालको दुरुपयोग, ब्ल्याकमेलिङ तथा व्यक्तिगत तथ्याङ्क सुरक्षालगायत विषयमा प्रोजेक्टरमार्फत भिडियो र तस्बिर प्रदर्शन गर्दै जानकारी दिनुभयो। उहाँले अपरिचित लिङ्क क्लिक नगर्न, सामाजिक सञ्जालमा व्यक्तिगत विवरण सार्वजनिक नगर्न तथा अनलाइन आर्थिक कारोबारअघि प्रमाणीकरण गर्न आग्रह गर्नुभयो।

उहाँले साइबर अपराधमा परेमा वा त्यस्तो गतिविधि थाहा पाएमा तत्काल प्रहरीमा उजुरी दिनुपर्ने बताउँदै स्मार्टफोनमार्फत अनलाइन उजुरी दिने तरिकासमेत सिकाउनुभयो। नेपाल प्रहरीको साइबर ब्यूरोसँग फोनमार्फत पनि सम्पर्क गर्न सकिने जानकारी दिइएको थियो।
कार्यक्रममा इलाका प्रहरी चौकी कपिलाकोटका प्रहरी नायव अशोक यादव र प्रहरी नायव अजय कुमार कुशवाहले समेत प्रशिक्षण दिनुभएको थियो।
अधिवक्ता यादव आचार्यले साइबर अपराधसम्बन्धी कानुनी व्यवस्थाबारे जानकारी दिँदै स्मार्टफोन, कम्प्युटर वा अन्य डिजिटल माध्यमबाट कानुनले निषेध गरेका कार्य साइबर अपराधअन्तर्गत पर्ने बताउनुभयो। उहाँले अपराधमा संलग्न व्यक्तिमात्र नभई सहयोग गर्ने तथा आपत्तिजनक सामग्री सेयर गर्ने व्यक्तिलाई समेत कानुनी कारबाही हुन सक्ने जानकारी गराउनुभयो। प्रशिक्षणका क्रममा उहाँले बालविवाहविरुद्ध पनि सचेत गराउँदै “विवाह २० वर्षपछि मात्रै” भन्ने सन्देश दिनुभयो।

आयोजक बुद्ध कुमार आछामीका अनुसार कार्यक्रम हरिहरपुरगढी गाउँपालिकाका ८ वटा माध्यमिक विद्यालयमा सम्पन्न भइसकेको छ भने मरिण गाउँपालिकाका १० वटा माध्यमिक विद्यालयमा सञ्चालन गरिएको छ। कक्षा ८ देखी +१२ का विद्यार्थी तथा शिक्षक गरी २ हजारभन्दा बढी प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ। दुवै गाउँपालिकाका गरी २० शिक्षण संस्थामा कार्यक्रम सञ्चालन गर्ने योजना रहेको छ।

हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष बज्रध्वज वाइवाले प्रविधिसँग नजिकिँदै गएका विद्यार्थीलाई साइबर सुरक्षाबारे समयमै जानकारी दिन आवश्यक रहेको बताउनुभयो।विद्यालय तहबाटै डिजिटल साक्षरता र जिम्मेवार सामाजिक सञ्जाल प्रयोगको संस्कार विकास गर्न सके भविष्यमा साइबर अपराध न्यूनीकरणमा सहयोग पुग्ने उहाँको भनाइ थियो।
त्यस्तै, मरिण गाउँपालिकाका अध्यक्ष विमर्श मुक्तानले अनलाइन ठगी र सामाजिक सञ्जालमार्फत हुने अपराध बढ्दै गएको उल्लेख गर्दै यस्ता सचेतनामूलक कार्यक्रम प्रभावकारी भएको बताउनुभयो। उहाँले विद्यार्थीलाई प्रविधिको सही, सुरक्षित र नैतिक प्रयोग गर्न आग्रह गर्नुभयो।

कपिलाकोट माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार श्रेष्ठले नेपालमा स्मार्टफोन, इन्टरनेट तथा सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, मेसेन्जर र ह्वाट्सएपमार्फत हुने साइबर अपराधका घटना पनि बढिरहेको बताउँदै यसको न्यूनीकरणका लागि सबै क्षेत्रबाट पहल आवश्यक रहेको धारणा राख्नुभयो।
आयोजक विजय किल्ला मिडिया प्रा.लि.का अध्यक्ष बुद्ध कुमार आछामीले मिडियाको जिम्मेवारी समाचार सम्प्रेषणमा मात्र सीमित नभई समाजलाई सचेत र सशक्त बनाउनु पनि रहेको बताउनुभयो। उहाँले आगामी दिनमा यस्ता कार्यक्रम अन्य स्थानीय तहमा समेत विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो।




