कमलामाई नगरपालिकाले वैदेशिक रोजगारबाट फर्केकाहरूलाई उद्यमशीलता विकास तालिम दिंदै :

सिन्धुली,२० –
कमलामाई नगरपालिकामा आन्तरिक रोजगारी प्रवर्द्धन गर्ने उद्देश्यले ७ दिने उद्यमशीलता विकास तालिम कार्यक्रम भएको छ। १७ गते विहिवार कमलामाई नगरपालिकाको सभाहलमा “राष्ट्रिय रोजगार प्रवर्द्धन कार्यक्रम” अन्तर्गत वैदेशिक रोजगारीबाट फर्किएका तथा स्वदेशमै उद्यम गर्न इच्छुक युवाहरूलाई लक्षित गरी तालिम सञ्चालन गरिएको छ।
कमलामाई नगरपालिकाको रोजगार सेवा केन्द्रको आयोजनको तालिममा सहभागीहरूलाई व्यवसाय योजना तयार गर्ने, लगानी व्यवस्थापन, बजार विश्लेषण तथा साना तथा मझौला उद्यम सञ्चालनसम्बन्धी व्यवहारिक सीप प्रदान गरिएको थियो। तालिम अवधिभर सहभागीहरूले विभिन्न अभ्यास तथा समूहगत क्रियाकलापमार्फत उद्यम सञ्चालनका आधारभूत कुराहरू सिकेका छन्।
तालिमका क्रममा चित्रसहितका सामग्री प्रयोग गरी वस्तु पहिचान, मूल्य निर्धारण र बजेट बनाउने अभ्यास गराइएको छ, जसले सहभागीहरूलाई व्यवसायिक अवधारणा बुझ्न सहज बनाएको प्रशिक्षकहरू रिता कुमारी परियार्की र मुना मगरले बताउनु भएको छ ।
आयोजकका अनुसार, यस्ता तालिमले वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई स्वदेशमै उद्यम स्थापना गरी आत्मनिर्भर बन्न प्रेरित गर्ने विश्वास गरिएको छ। सहभागीहरूले पनि तालिम प्रभावकारी र उपयोगी रहेको जनाउँदै सिकेका सीपलाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
स्थानीय तहले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै रोजगारी सिर्जना र बेरोजगारी न्यूनीकरणमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।


