गाउँघरका आवाज

रमाइलो गर्दै मनाइयो धान रोपाइँ, किसानका समस्या भने उस्तै

असार,१६ सिन्धुली-

 असार १५ का अवसरमा देशभर राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव हर्षोल्लासका साथ मनाइएको छ। विभिन्न सरकारी निकाय, स्थानीय तह, राजनीतिक दल तथा संघसंस्थाले हिलो खेल्दै धान रोपे, दही–चिउरा खाएर कृषि उत्पादन वृद्धि तथा किसानको समृद्धिका प्रतिबद्धता व्यक्त गरेका छन् । विभिन्न स्थानमा जनप्रतिनिधि, कर्मचारी, स्थानीयवासी र युवाहरूको सहभागितामा रोपाइँ महोत्सव मनाइएको थियो । हिलोमा रमाउँदै नाचगान गर्दै नेपाली कृषि संस्कृतिको संरक्षण तथा प्रवर्द्धनको सन्देश दिइयो।

तर उत्सवको रमाइलोपनबीचको वास्तविक किसानका समस्या भने पुरानै अवस्थामा रहेका छन्। खेतमा वर्षभरि पसिना बगाउने किसान मलको अभाव, सिँचाइको समस्या, गुणस्तरीय बीउको कमी, उत्पादनको उचित मूल्य नपाउने अवस्था र कृषि अनुदान वितरणमा हुने अनियमितताको मार किसानले भोगीरहेका छन् ।

विशेषगरी बाली लगाउने मुख्य समयमा रासायनिक मलको अभाव र वितरणमा हुने ढिलाइले किसानलाई सबैभन्दा बढी मार परेको उनीहरूको गुनासो छ। सरकारले उपलब्ध गराउने अनुदान वास्तविक किसानसम्म नपुगी पहुँचवालाले बढी लाभ लिने प्रवृती दोहोरिरहन्छ। “फोटो खिच्न र हिलो खेल्न आउनेहरू धेरै भए, तर हाम्रो समस्या सुन्ने कोही भएन,” सिन्धुलीका एक किसानले गुनासो गरे।

विगतका दशकहरूमा “किसानको हकहित” भन्ने नाराले धेरै राजनीतिक दल स्थापित भए। यही नाराको बलमा धेरै नेता सांसद, मन्त्री र विभिन्न आयोगका पदाधिकारी बने। तर किसानको जीवनस्तर, उत्पादन लागत, बजार व्यवस्थापन र कृषि सामग्रीको सहज उपलब्धतामा सुधार हुन नसकेको किसानहरूको भनाइ छ।

नेपालको कृषि प्रधान देश भए पनि किसान अझै सम्मानजनक जीवनयापनका लागि संघर्षरत छन्। धान दिवसका अवसरमा हुने औपचारिक कार्यक्रम, भाषण र हिलो खेल्ने संस्कृतिले मात्र किसानको समस्या समाधान नहुने उनीहरूको धारणा छ।

किसानहरू भन्छन्, हामीलाई भाषण होइन, समयमा मल चाहिन्छ। घोषणा होइन, उत्पादनको उचित मूल्य चाहिन्छ। फोटो खिच्ने कार्यक्रम होइन, किसानमैत्री नीति र त्यसको प्रभावकारी कार्यान्वयन चाहिन्छ।”

राष्ट्रिय धान दिवसको वास्तविक सार्थकता तब मात्र हुनेछ, जब खेतमा पसिना बगाउने किसानले आफ्नो श्रमको उचित सम्मान, समयमा कृषि सामग्री, उत्पादनको उचित मूल्य र राज्यको व्यवहारिक सहयोग अनुभूति गर्न सक्नेछन्। अन्यथा, हरेक असार १५ मा हिलो खेल्ने उत्सव दोहोरिए पनि किसानका पीडा र अपेक्षा भने उस्तै रहेको छ ।(रोपाँईको फोटो सामाजिक सन्जालबाट)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button