ताजा समाचार

शिक्षक र सरकार विच नो बुँदे सहमती भएपछि आन्दोलन स्थगित:

सिन्धुली १९, शिक्षकहरु विभिन्न सेवा ,सुविधा र हक अधिकारको माग गर्दै काठमाडौंमा करिब एक महिना लामो आन्दोलन गरेका थिए। नेपाल शिक्षक महासंघको नेतृत्वमा भएको यस आन्दोलनमा शिक्षकहरूले शिक्षा प्रणालीमा सुधार, अस्थायी शिक्षकहरूको स्थायीत्व, तलब–ग्रेड वृद्धि, र सेवा सुरक्षालगायतका मागहरू राखेर आन्दोलन गरेका थिए ।​

शिक्षकहरूको आन्दोलन वैशाख १८ गते अन्त्य भएको छ। सरकार र नेपाल शिक्षक महासंघबीच भएको नौ बुँदे सहमति मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि आन्दोलन स्थगित गरिएको हो। शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार, बिहीबारदेखि शिक्षकहरू विद्यालय फर्किने र भर्ना अभियान सुरु गर्ने घोषणा गरिएको छ ।​

शिक्षक र सरकार विच सहमती
शिक्षक र सरकार विच सहमती

नौ बुँदे सहमतिमा समावेश मुख्य विषयहरूमा निम्न छन्:​

१) शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धमा काठमाडौँमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने ।

२) अस्थायी प्रकृतिका शिक्षक – राहत,अस्थायी, साबिक उमावि, सिकाई अनुदान, प्राविधिक धार, विशेष शिक्षा र बाल विकास सहजकर्ताको बिरामी बिदा सञ्चित हुने र सो बापतको रकम अवकाश भएका बखतमा एकमुष्ट प्राप्त गर्ने ।

३) प्रारम्भिक बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिकका सम्बन्धमा नेपाल सरकारबाट तोके बमोजिम

व्यवस्था गर्ने ।

४) आगामी आर्थिक वर्ष २०८२/८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीय, प्राथमिक द्वितीय, निम्न माध्यमिक तृतीय र माध्यमिक प्रथम श्रेणीका शिक्षकहरूको लागि निजामती सरह ग्रेड सङ्ख्या र रकम कायम गर्ने ।

५) स्थायी तथा अस्थायी प्रकृतिका कोटा (राहत, अस्थायी, करार साविक उमावि, प्राविधिक धार र विशेष शिक्षा) का सबै शिक्षकले प्रचलित कानुन बमोजिम दुर्गम भत्ता पाउने व्यवस्था गर्ने ।

६) सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न नियमावलीमा व्यवस्था गर्ने ।

७) नेपाल सरकारको मर्यादाक्रम सूचीमा शिक्षकहरूलाई समावेश गर्ने ।

८) नेपाल शिक्षक महासङ्घको आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण शिक्षक, सुरक्षाकर्मी, कर्मचारी तथा पत्रकारहरूको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने ।

९) निम्न माध्यमिक तह प्रथम श्रेणी का शिक्षकको तलब तथा ग्रेड माध्यमिक द्वितीय श्रेणीका शिक्षक सरह हुनेगरी कायम गर्ने ।

शिक्षकहरूको आन्दोलन चैत २० गते देखि सुरु भएको थियो। शिक्षकहरूले संसद् बैठक स्थगित भएपछि विद्यालय शिक्षा ऐन पारित गर्ने प्रक्रिया अघि नबढेको भन्दै आन्दोलन थालेका थिए । यस क्रममा शिक्षकहरूले काठमाडौंमा प्रदर्शन, धर्ना, र जुलुसहरू आयोजना गरेका थिए।​

शिक्षकहरूको आन्दोलनलाई विभिन्न राजनीतिक दलहरूले समर्थन जनाएका थिए। समाजवादी मोर्चा नेपालले सरकारलाई वार्ता र संवादमार्फत समस्या समाधान गर्न आग्रह गरेको थियो । त्यस्तै, नेकपा (माओवादी केन्द्र) ले शिक्षक आन्दोलनलाई दबाउन खोजिएको भन्दै सरकारको आलोचना गरेको थियो

सरकार र शिक्षक महासंघबीचको सहमतिपछि लामो समयदेखि जारी शिक्षक आन्दोलन अन्त्य भएको छ। अब शिक्षकहरू विद्यालय फर्किने र शिक्षा प्रणालीमा सुधारका लागि सहमत बुँदाहरू कार्यान्वयन हुने अपेक्षा गरिएको छ। (फोटो साभार)

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button