गाउँघरका आवाज

भोटेकोशी बाढीको विपत्तमा कतिलाई भयो उद्धार र राहतः

सिन्धुली भदौ,१७

भोटेकोशी नदीमा आएको २०८३ भदौ १० गतेको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको खबरले सिंगो देशलाई स्तब्ध बनाएको छ। बाढीमा परी ज्यान गुमाउनुभएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ। बाढीका कारण घाइते हुनुभएका सबैको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै सुरुङ तथा जोखिमपूर्ण स्थानमा फसेका व्यक्तिहरूको सुरक्षित उद्धारका लागि सम्बन्धित सबै पक्षको तत्काल र प्रभावकारी पहल आवश्यक छ।

प्राकृतिक विपत्ति कसैको प्रतीक्षा गरेर आउँदैन। तर विपत्तिका बेला मानवीय संवेदना, राज्यको तत्परता र नागरिकको सहयोगले धेरै जीवन जोगाउन सकिन्छ। अहिले भोटेकोशी क्षेत्रमा रहेका मानिसहरूका लागि प्रत्येक मिनेट महत्वपूर्ण छ। सुरुङभित्र वा अन्य जोखिमपूर्ण स्थानमा फसेकाहरूको उद्धारमा ढिलाइ हुनु हुँदैन। उद्धारका लागि आवश्यक सुरक्षा उपकरण, दक्ष जनशक्ति, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा प्राविधिक टोलीलाई तत्काल परिचालन गर्नुपर्छ।

यस विपत्तिको घडीमा सरकार, स्थानीय तह, सुरक्षा निकाय, उद्धारकर्मी, रेडक्रस, स्वास्थ्य संस्था, गैरसरकारी संघसंस्था, निजी क्षेत्र तथा आम नागरिक सबै एक ठाउँमा उभिन आवश्यक छ। उद्धार कार्यलाई राजनीतिक आरोप–प्रत्यारोप वा प्रचारको विषय नबनाई जीवन बचाउने साझा अभियानका रूपमा अघि बढाइनुपर्छ।

बाढीमा परेका परिवारहरूलाई अहिले आश्वासन मात्र होइन, तत्काल राहत र सुरक्षित आश्रयको आवश्यकता छ। खानेपानी, खाद्यान्न, औषधि, कपडा, अस्थायी आवास तथा आवश्यक स्वास्थ्य सेवाको व्यवस्था तत्काल गर्नुपर्छ। साथै, बाढीका कारण परिवारबाट सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजी तथा उनीहरूका परिवारलाई सही सूचना उपलब्ध गराउने संयन्त्र प्रभावकारी बनाउनुपर्छ।

हामी आम नागरिकलाई पनि आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग गर्न हार्दिक आह्वान गर्दछौँ। उद्धार तथा राहतमा प्रत्यक्ष सहभागी हुन सक्नेहरूले सम्बन्धित सुरक्षा निकाय र स्थानीय प्रशासनसँग समन्वय गरी सहयोग गरौँ। आर्थिक, खाद्यान्न, औषधि वा अन्य आवश्यक सामग्री सहयोग गर्न सक्नेहरूले विश्वसनीय सरकारी तथा आधिकारिक राहत संयन्त्रमार्फत सहयोग गरौँ। तर असुरक्षित रूपमा उद्धारस्थलमा भीड जम्मा गर्ने, अपुष्ट सूचना फैलाउने वा उद्धार कार्यमा बाधा पुग्ने गतिविधि नगरौँ।

सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्ताको भूमिका पनि यतिबेला अत्यन्त महत्वपूर्ण छ। विपत्तिका बेला सत्य र आधिकारिक सूचना मात्र प्रवाह गरौँ। अफवाह, अपुष्ट समाचार तथा डर फैलाउने सामग्रीले पीडित परिवारको पीडा थप बढाउन सक्छ। त्यसैले हरेक सूचना सम्प्रेषण गर्दा जिम्मेवार बनौँ।

भोटेकोशीको बाढीले हामीलाई प्राकृतिक विपत्तिसँग जुध्न पूर्वतयारी, जोखिम पहिचान र प्रभावकारी उद्धार प्रणाली कति आवश्यक रहेछ भन्ने पुनः स्मरण गराएको छ। तत्काल उद्धार र राहतसँगै भविष्यमा यस्ता विपत्तिबाट हुने क्षति न्यूनीकरणका लागि दीर्घकालीन योजना र पूर्वसूचना प्रणालीलाई समेत प्राथमिकता दिनुपर्छ। सम्पादकिय

Related Articles

Back to top button