गाउँघरका आवाज

सिन्धुलीको मधुगङ्गा महादेव मन्दिर दर्शनमा आएका दुई तीर्थयात्री मृत फेला,

सिन्धुली, ५ साउन — दुधौली नगरपालिका–२ स्थित प्रसिद्ध मधुगङ्गा महादेव मन्दिर दर्शनका लागि आएका दुई तीर्थयात्री मृत अवस्थामा फेला परेका छन्।

पहिलो घटनामा करिब ५५ देखि ६० वर्ष उमेरका जस्तो देखिने एक पुरुषको शव गागनबजारमा फेला परेको हो। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार ती व्यक्तिको साथमा कुनै पहिचान खुल्ने कागजात नभेटिएको र शवलाई मुचुल्का उठाई पोष्टमार्टमका लागि सिन्धुली अस्पताल लगिएको हो।

प्रहरी नायब उपरीक्षक (डिएसपी) सूर्य प्रकाश सुवेदीका अनुसार मृतक भारतबाट मन्दिर दर्शन गर्न आएका तीर्थयात्री हुन सक्ने अनुमान गरिएको छ। “साउन महिनाभर भारत तथा स्थानीय क्षेत्रबाट ठूलो सङ्ख्यामा भक्तजन यहाँ आउने परम्परा छ,” सुवेदीले बताए, “शवको पहिचान खुलाउन प्रयास जारी छ। यदि कसैले चिनेमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा सम्पर्क गरिदिनुहुन अनुरोध छ।”

त्यसैगरी, दोस्रो घटनामा अन्दाजी २५–३० वर्ष उमेरका एक युवकको शव पदम बहादुर घिसिङको घर नजिकैको खाली जग्गामा फेला परेको छ। शव ५ गते बिहान करिब १०:४० बजे भेटिएको हो।

डिएसपी सुवेदीका अनुसार मृतकको छातीमा धारिलो हतियार प्रयोग गरिएको देखिएको र घटनास्थलबाट धारिलो हतियार, चुप्पी र चुप्पीको खोल पनि फेला परेको छ। प्रारम्भिक अनुसन्धानमा उनी पनि मधुगङ्गा महादेव मन्दिर दर्शन गर्न आएका व्यक्ति भएको खुलेको प्रहरीले जनाएको छ।

दुवै घटनाको सम्बन्धमा प्रहरी अनुसन्धान तीव्र पारिएको छ। पोष्टमार्टम रिपोर्टपछि मात्र मृत्युको वास्तविक कारण र सम्भावित अपराधका कोणबारे थप विवरण आउने बताइएको छ।

धार्मिक र पर्यटकीय हिसाबले पछिल्ला वर्षमा लोकप्रिय बन्दै गएको मधुगङ्गा महादेव मन्दिरमा विशेषगरी साउन महिनामा भव्य मेला लाग्ने गर्दछ। हाल दैनिक हजारौँ भक्तजन यस क्षेत्रमा आउने गरेका छन्।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button