माध्यामिक विद्यालय कपिलाकोटको यस पर्षको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक:
सिन्धुली, १७ साउन । मरिण गाउँपालिकाकाे कपिलाकोट माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८२ तथा आर्थिक वर्ष २०८२/८३ को लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ। विद्यालयले गत वर्षदेखि सुरू गरेका विभिन्न योजनाहरुलाई निरन्तरता दिँदै यस वर्ष थप नयाँ कार्यक्रमहरु पनि प्रस्तुत गरेको छ।
विद्यालयका प्रधानाध्यापक अमृतसिं घिसिङले सार्वजनिक गर्नुभएकाे ७८ वटा नीतिगत कार्यक्रमहरू विद्यालय व्यवस्थापन समितिबाट अनुमोदित भएका छन । तीमध्ये ४४ शैक्षिक, १२ भौतिक पूर्वाधार तथा २२ आर्थिक व्यवस्थापनसँग सम्बन्धित रहेका छन्।
कार्यक्रम अन्तर्गत विद्यालयको अनुमानित आम्दानी रु. ४,०७,१८,०४३/- र अनुमानित खर्च रु. ४,१५,१९,१७३/- रहेको छ। प्रस्तुत बजेट र योजनामाथि शिक्षक, कर्मचारी तथा आमन्त्रित अतिथिहरूले विभिन्न सुझाव तथा टिप्पणी गरेका थिए।

कार्यक्रमको अवसरमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजकुमार श्रेष्ठले सुझावहरूलाई समेट्दै योजनाको कार्यान्वयन सुनिश्चित गरिने प्रतिवद्धता जनाउनुभयाे। साथै, गत वर्ष प्रभावकारी कार्य सम्पादन गरेका शिक्षक तथा कर्मचारीहरूलाई सम्मान तथा नगद प्रोत्साहन प्रदान गरिएको थियो। कक्षा १० र १२ को बोर्ड परीक्षामा विषयगत रुपमा १०० प्रतिशत सफलता दिलाउने शिक्षकहरूलाई जनही रु. १०,०००/- नगद पुरस्कार वितरण गरिएको थियो।

नयाँ शैक्षिक सत्रका कार्यक्रमहरू
१. विद्यार्थी सहायता कोष: नयाँ कार्यविधि निर्माण गरी कोषमार्फत सिप विकास तथा उत्पादनमुखी उद्यमशीलता प्रवर्द्धन गर्दै उत्कृष्ट उद्यमी विद्यार्थीलाई सम्मान।
२. उत्कृष्ट विद्यार्थी सम्मान: विषय, कक्षा तथा फ्याकल्टी अनुसार उत्कृष्ट विद्यार्थीलाई नगद पुरस्कार।
३. ‘एक शिक्षक, एक ल्यापटप’ कार्यक्रम: प्रविधिमा आधारित शिक्षण प्रणालीलाई सशक्त बनाउने उद्देश्य।
४. शैक्षिक अन्तरसंवाद कार्यक्रम: विद्यालय सेवा क्षेत्रलाई टोल अनुसार विभाजन गरी प्रत्येक महिनाको अन्तिम शुक्रबार शिक्षक-अभिभावक-विद्यार्थीबीच अन्तरसंवाद।
५. मोवाइल नीति कार्यान्वयन: विद्यार्थीको पठनपाठन तथा स्वास्थ्यलाई ध्यानमा राख्दै नियमन नीति निर्माण।
६. ‘बचत र दान’ अभियान: जन्मदिन वा महिनाको अन्तिम दिन दान पेटिकामा योगदान गरी विद्यार्थी सहायता कोषमा जम्मा गर्ने चलनको थालनी।
७. आन्तरिक मर्मत संभार कोष: आन्तरिक आम्दानीको ५% छुट्याइ मर्मत-सम्भार कोष खडा।
८. पैदल मार्ग निर्माण: प्रवेशद्वारदेखि मुख्य भवनसम्म आकर्षक पदमार्ग निर्माण।
९. छात्रवृत्ति कोष विस्तार: कोषको कुल राशी पचास लाख रुपैयाँ पुर्याइ यस वर्ष दुईलाख पचहत्तर हजार रुपैयाँ छात्रवृत्ति वितरण गरिने।
१०. मौसमी चन्दा (धान): “मंसिरमा मौसमी चन्दा – धान” नारासहित प्रत्येक विद्यार्थीबाट न्यूनतम एक पाथी धान संकलन गरी आर्थिक स्रोत सृजना।
विद्यालयले प्रस्तुत गरेका यी कार्यक्रमहरूले शिक्षाको गुणस्तर अभिवृद्धि गर्नुका साथै विद्यार्थीहरुलाई सिर्जनशील, स्वावलम्बी र जिम्मेवार नागरिकका रुपमा विकास गर्ने विश्वास गरिएको छ ।


