सिन्धुलीमा ट्रकले पैदल यात्रीलाई ठक्कर, एक जनाको मृत्यु एक जना घइतेः
सिन्धुली, भदौ २० ,
सिन्धुलीको कमलामाई नगरपालिका–९ बथानचौडीमा शुक्रबार बिहान ट्रकले पैदल यात्रीलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्।
बिहान करिब ६ बजे विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश नम्बर ०१–००६ ख ९६४४ नम्बरको ट्रकले बाटोमा हिँडिरहेका दुईजनालाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय (इ.प्र.का.) भिमानले जनाएको छ।
घाइते हुनेमध्ये बथानचौडीका ४६ वर्षीय भुवन भुजेलको उपचारका क्रममा बर्दिबासस्थित शुभ–स्वस्तिक अस्पतालमा मृत्यु भएको पुष्टि गरिएको छ। त्यस्तै, ६४ वर्षीय टेकप्रसाद दाहाललाई टाउको र छातीमा चोट लागेर मध्यम अवस्थासहित उपचार भइरहेको छ।
ठक्करपछि ट्रक अनियन्त्रित भई सडकको दायाँतर्फको एक घरमा ठोक्किएको थियो। सो क्रममा घरमा भौतिक क्षति भएको छ भने घरभित्र रहेका करिब २० वटा कुखुरा गारोले थिचिएर मरेका छन्।
घटनापछि इलाका प्रहरी कार्यालय भिमानका प्रमुख प्रहरी निरीक्षक टंकबहादुर कार्कीको कमाण्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो। ट्रकलाई नियन्त्रणमा लिइएको र चालकलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ।


