गाउँघरका आवाज

मरिण गाउँपालिकाद्वारा सहिद परिवार सम्मान तथा शैक्षिक प्रोत्साहन कार्यक्रम सम्पन्न

सिन्धुली, १ फगुन-

आज मरिण गाउँपालिकाले सहिद परिवार सम्मान, सामाजिक सुरक्षा तथा शैक्षिक प्रोत्साहनसम्बन्धी विविध कार्यक्रम सम्पन्न गरेको छ। गाउँपालिका अध्यक्ष विर्मश मुक्तानको अध्यक्षतामा आयोजित कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विमला माझी, प्रमुख प्रशासकीय अधिकृत, गाउँ कार्यपालिका सदस्य, वडाध्यक्ष उपस्थिती थियो भने सहिद परिवार तथा स्थानीय जनसमुदायको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा सहभागी शहिद परिवार,तथा जनसहभागीहरु

कार्यक्रममा गाउँपालिकाभित्रका ५३ जना सहिद परिवारलाई खादा लगाएर सम्मान गर्नुका साथै निर्वाह सहयोगस्वरूप जनही रु २० हजारका दरले नगद वितरण गरिएको छ।

आमा–बुवा विहीन बालबालिका संरक्षण कार्यक्रमअन्तर्गत ४ जना बालबालिकालाई जनही रु २४ हजार सहयोग प्रदान गरिएको छ भने द्वन्द्वपीडित बालबालिकालाई छात्रवृत्ति वितरण गरिएको जनाइएको छ। स्नातक उत्तीर्ण गरेका ५ जना किशोरीलाई जनही रु १ लाखका दरले प्रोत्साहन रकम प्रदान गरिएको छ।

मरिण गाउँपालिकाद्वारा सहिद परिवार सम्मान तथा शैक्षिक प्रोत्साहन कार्यक्रम सम्पन्न
मरिण गाउँपालिकाद्वारा सहिद परिवार सम्मान तथा शैक्षिक प्रोत्साहन कार्यक्रम सम्पन्न

वि.सं. २०८१ को एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने छात्रा दिया पुरी र छात्र स्वरुप स्याङ्तानलाई जनही रु ५० हजार नगदसहित सम्मान गरिएको छ। उत्कृष्ट नतिजा ल्याउने विद्यालयतर्फ प्रथम हुने मावि सिन्धुरे राटमाटलाई रु ३ लाख, द्वितीय हुने कुशेश्वर मावि नक्कलीलाई रु २ लाख र तृतीय हुने कपिलाकोट छापलाई रु १ लाखसहित प्रशंसापत्र प्रदान गरिएको छ। साथै एसईई उत्तीर्ण गरी गाउँपालिकाभित्रका विद्यालयमा कक्षा ११ मा अध्ययनरत १४ जना छात्रालाई साइकल वितरण गरिएको छ।

मरिण गाउँपालिका भित्रको विद्यालयमा ११ कक्षा पढ्ने विद्यार्थीलाई साइकल वितरण :

कार्यक्रममा बोल्दै अध्यक्ष विर्मश मुक्तानले सहिदहरूको बलिदानको स्मरण गर्दै गाउँपालिकाले उनीहरूको परिवारप्रति सदैव सम्मान र उत्तरदायित्व महसुस गर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “सहिदहरूको त्याग र बलिदानकै कारण आज हामी लोकतान्त्रिक अभ्यासमा उभिएका छौँ। उनीहरूको परिवारको सम्मान र सहयोग गर्नु हाम्रो कर्तव्य हो।” शिक्षा र सामाजिक संरक्षणका कार्यक्रमलाई निरन्तरता दिँदै आगामी दिनमा युवापुस्ता र विपन्न वर्ग लक्षित कार्यक्रम थप प्रभावकारी रूपमा सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो।

उपाध्यक्ष विमला माझीले महिला, बालबालिका र शैक्षिक उन्नतिका कार्यक्रमलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै भन्नुभयो, “बालबालिका र किशोरीहरूलाई शिक्षा र अवसरसँग जोड्नु नै दिगो विकासको आधार हो। हामी समावेशी र न्यायपूर्ण समाज निर्माणमा प्रतिबद्ध छौँ।”

कार्यक्रममा सहिद परिवार, अभिभावक, विद्यार्थी तथा स्थानीयवासीको उत्साहजनक उपस्थिति रहेको थियो। सम्मान, सहयोग तथा प्रोत्साहनका कार्यक्रमले सहभागीहरूमा सकारात्मक ऊर्जा र आत्मविश्वास थपिएको अनुभूति गरिएको छ। गाउँपालिकाले सामाजिक न्याय, शिक्षा प्रवर्द्धन र सहिद परिवारप्रतिको सम्मानलाई संस्थागत गर्दै उदाहरणीय अभ्यास प्रस्तुत गरेको जनाएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button