असारमा सरकारी कर्मचारीलाई भ्याइनभ्याइ
सिन्धुली, असार १३ –
आर्थिक वर्ष २०८२/८३ को अन्तिम चरण नजिकिँदै जाँदा सरकारी कार्यालयहरूमा कर्मचारीको कार्यचाप उल्लेखनीय रूपमा बढेको छ। बजेट कार्यान्वयन, भुक्तानी, बेरुजु फर्छ्योट, योजना सम्पन्न गर्ने, प्रगति विवरण तयार गर्ने तथा आगामी आर्थिक वर्षका कार्यक्रमहरूको तयारी एकैसाथ गर्नुपर्ने भएकाले कर्मचारीहरू बिहानदेखि साँझसम्म व्यस्त देखिएका छन्। विदाको दिनमा पनि कार्यालयमा कार्या सम्पादन गर्नु पर्ने दुखेसो सिन्धुली जिल्लाको एक कर्मचारी बताछन् । अहिले देशै भरीका सरकारी कार्यालयहरुमा कर्मचारीलाई कामको खटाई निकै चर्को रहेको छ ।

आर्थिक वर्षको अन्तिम महिनामा विकास निर्माणका योजनाहरू सम्पन्न गर्ने, ठेक्का तथा उपभोक्ता समितिमार्फत सम्पन्न भएका योजनाको मूल्याङ्कन, भुक्तानी प्रक्रिया, वित्तीय प्रतिवेदन, लेखा मिलान तथा विभिन्न प्रशासनिक कामहरू एकैपटक गर्नुपर्ने भएकाले अधिकांश सरकारी कार्यालयमा कामको चाप अत्यधिक बढेको हो।
कतिपय कार्यालयमा कर्मचारी अभावका कारण एउटै कर्मचारीले धेरै जिम्मेवारी सम्हाल्नुपरेको छ। सेवाग्राहीलाई नियमित सेवा दिनुका साथै आर्थिक वर्षको अन्त्यका सबै वित्तीय तथा प्रशासनिक प्रक्रिया समयमै सम्पन्न गर्नुपर्ने बाध्यताले कर्मचारीलाई अतिरिक्त समय काम गर्नुपर्ने अवस्था सिर्जना भएको छ।
यस अवधिमा सेवाग्राहीको चाप पनि बढ्ने गरेको छ। विभिन्न योजनाको भुक्तानी, सिफारिस, सम्झौता, कर तथा अन्य प्रशासनिक काम अन्तिम समयमा गर्न आउने सेवाग्राहीको भीडले कार्यालयहरू थप व्यस्त बनेका छन्।
सम्बन्धित कार्यालयका कर्मचारीहरूका अनुसार तोकिएको समयभित्र सबै काम सम्पन्न गर्न कार्यालय समयपछि पनि काम गर्नुपर्ने अवस्था रहेको छ। समयमै भुक्तानी तथा वित्तीय कारोबार सम्पन्न गर्न नसके बजेट फ्रिज हुने जोखिम रहने भएकाले कर्मचारीहरू उच्च जिम्मेवारीका साथ काम गरिरहेका छन्।
सरोकारवालाहरूले आर्थिक वर्षको अन्तिम समयमा मात्र कामको अत्यधिक चाप हुने परम्परालाई अन्त्य गर्न वर्षभरि नै योजनाको प्रभावकारी कार्यान्वयन, नियमित अनुगमन तथा समयमै भुक्तानी प्रणालीलाई व्यवस्थित गर्न आवश्यक रहेको बताएका छन्। यसो गर्न सके आर्थिक वर्षको अन्त्यमा हुने हतार, कर्मचारीमाथिको अत्यधिक कार्यबोझ तथा सेवाग्राहीले भोग्ने असुविधा समेत न्यूनीकरण हुने विश्वास गरिएको छ।




