सिन्धुलीमा सासू–ससुरा र नन्द हत्या गरेको शुशिलाको शव १३ दिन पछि अन्त्येष्टि गरियो
सिन्धुली — सिन्धुली जिल्लामा यही पुस ६ गते एक विवाहित महिलाको अत्यन्तै निर्मम ढंगले हत्या भएको घटनाले जिल्लाभरि आक्रोश र स्तब्धता फैलिएको छ। कमलामाई नगरपालिका–४ धुराफाटकी शुसीला योञ्जनको आफ्नै सासू, ससुरा र नन्दले योजनाबद्ध रूपमा हत्या गरेको प्रारम्भिक प्रहरी अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार शुसीलालाई पहिला कुटपिट गरी गम्भीर घाइते बनाइएपछि पेट्रोल खन्याएर आगो लगाइएको थियो। घटना २.५ तले घरको किचनबाट पूर्वतर्फको कोठामा घटाइएको हो। हत्या गर्दा बाहिरी गेटमा नयाँ र ठूलो ताला लगाइएको र भित्रको ढोका पनि भित्रबाट बन्द गरिएको पाइएको छ।
अनुसन्धानका क्रममा खुल्न आएको विवरणअनुसार शुसीलाका ससुरा दुर्गामान बम्जनले केही दिनअघि नै नजिकैका अटो चालक छिमेकीमार्फत दुई जम्बो बोतलमा पेट्रोल मगाएका थिए। पेट्रोलसँगै आगो लगाउन प्रयोग गरिएको सलको पुल्ठो पनि प्रहरीले घरभित्र लुकाइएको अवस्थामा फेला पारेको छ। घरमा आगलागी फैलिने डरले आगो निभाउने क्रममा ससुरा घाइते भएका थिए। हाल उनी उपचारका लागि सिन्धुली जिल्ला अस्पतालबाट काठमाडौं लगिए पनि प्रहरी नियन्त्रणमै रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीको प्रारम्भिक बयानमा नन्द मिना लामाले “दाजुले मार्नु भनेपछि हामीले मिलेर योजना बनाएर हत्या गरेका हौँ” भनी स्वीकार गरेको बताइएको छ। घटनामा सासू मायाँरानी बम्जन, ससुरा दुर्गामान बम्जन र नन्द मिना लामाको संलग्नता प्रष्ट देखिएको स्थानियहरु बताउछन् ।

स्थानीयका अनुसार शुसीलामाथि लामो समयदेखि घरेलु हिंसा हुँदै आएको थियो। छिमेकीहरूले नियमित कुटपिट हुने गरेको थाहा पाए पनि औपचारिक उजुरी नपरेको बताएका छन्। शुसीलाको मोबाइल केही दिनअघि नै खोसिएको थियो। हत्या हुनु अघिल्लो दिन उनले लुकिछिपी छिमेकीको मोबाइल प्रयोग गरी माइती पक्षलाई “मलाई भोलिसम्म मार्छु भनेको छ, मलाई मार्छन्” भन्दै डर व्यक्त गरेको विवरण पनि खुलेको छ। तर माइती पक्षले डरमात्र देखाएको ठानेर गम्भीर रूपमा नलिएको बताइएको छ।
शुसीलाको विवाह करिब २०६८/६९ सालतिर मामा–फुपूकी छोरी नाता पर्ने व्यक्तिसँग गराइएको थियो। तर उनका श्रीमानले विवाह मन नपराएको कुरा आफन्तहरूले बताएका छन्। विवाहपछि उनले दुई छोरा र एक छोरी जन्माएकी थिइन्। उनका श्रीमान रोजगारीका सिलसिलामा कोरियामा रहेका छन्। कोरिया जानु अघि उनले शुसीलासँग सम्पत्ति नदिई सम्बन्धविच्छेद गर्न खोजेको तर नमिलेपछि उनी कोरिया गएको बताइन्छ। कोरियामै अर्की महिलासँग विवाह गरेर बसेको चर्चा पनि छ। घटना थाहा पाएपछि उनी नेपाल फर्कँदै गरेको पारिवारिक स्रोतले जनाएको छ, तर हालसम्म घर आइपुगेका छैनन्।
घटनापछि सिन्धुली बजार क्षेत्रमा स्थानीय महिला समूहले हत्या घटनाको कडा विरोध गर्दै दोषीलाई कडा कारबाहीको मागसहित बजार परिक्रमा गरेका छन्। र्यालीमा सहभागी महिलाहरूले “महिला हिंसा बन्द गर”, “हत्यारालाई कडा सजाय दे” जस्ता नारा लगाएका थिए।

स्थानीय समुदायमा यो हत्या केवल पारिवारिक विवाद मात्र नभई बुहारीबाट बाहिर आउने कुनै गम्भीर रहस्यको डरका कारण गरिएको हो कि भन्ने आशंका पनि व्यक्त गरिएको छ। घटनाले महिलामाथि हुने घरेलु हिंसाको भयावह अवस्था र समयमै निराकरण नगर्दा कति डरलाग्दो परिणाम आउन सक्छ भन्ने प्रश्न उठाएको छ।
प्रहरीले घटनामा संलग्न सबै व्यक्तिविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जनाएको छ। यद्यपि, घटनालाई सामान्य बनाउँदै एक जनालाई मात्र जेल हालेर अरूलाई उन्मुक्ति दिने प्रयास भइरहेको भन्ने आशंका केही स्थानीयले व्यक्त गरेका छन्।
शुसीलाको शव १३ दिनपछि पुस १८ गते माइती र ससुराली पक्षले संयुक्त रूपमा बुझेका हुन्। शव मृतकका दाजु भिमबहादुर घिसिङ, भाउजु निर्मला स्याङतान, भाइ प्रेमबहादुर घिसिङ र देवर वृखबहादुर बम्जनले बुझेका थिए।
शव बुझिसकेपछि हरिहरपुरगढी गाउँपालिका वडा नं. ४ द्वारखोलामा तामाङ संस्कारअनुसार शुसीलाको अन्त्येष्टि गरिएको छ।


