गाउँघरका आवाज

ग्यासको हाहाकार कायमै : सरकार भन्छ– पर्याप्त छ, उपभोक्ता भन्छन्– लाइन बस्दा पनि पाइएन

सिन्धुली, १५-

 ग्यासको हाहाकार कायमै : सरकार भन्छ– पर्याप्त छ, उपभोक्ता भन्छन्– लाइन बस्दा पनि पाइएन

 खाना पकाउने एलपी ग्यासको आपूर्ति पर्याप्त रहेको सरकारको दाबी र बजारमा ग्यास नपाएको उपभोक्ताको गुनासोबीच अहिले पनि ठूलो अन्तर देखिएको छ । सरकारले ग्यास आयात र आपूर्ति नियमित रहेको बताइरहे पनि उपभोक्ताले भने खाली सिलिण्डर बोकेर घण्टौँसम्म लाइन बस्नुपर्ने र पालो आउँदा ग्यास सकिएको भन्दै फर्किनुपर्ने अवस्था रहेको बताएका छन् ।

साउन १० गते सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको तनावपूर्ण घटनापछि नेपालउत्पन्न असहज अवस्थासँगै  बजारमा एलपी ग्यासको आपूर्तिमा समेत चाप परेको थियो । उक्त घटनापछि देशका विभिन्न ठाउँमा ग्यास अभावको गुनासो बढ्दै गएको हो । देवानगञ्जमा साउन १० गते राति भएको झडपमा एक जनाको मृत्यु र सुरक्षाकर्मीसहित २४ जना घाइते भएको विवरण सार्वजनिक भएको छ ।

अहिले अवस्था केही सहज बन्दै गए पनि धेरै स्थानमा उपभोक्ताले ग्यासका लागि लामो समय कुर्नुपर्ने अवस्था अन्त्य भएको छैन । पछिल्ला रिपोर्टहरूले समेत आयात बढे पनि केही क्षेत्रमा ग्यासको अभाव कायम रहेको देखाएका छन्।

ग्यास अभावको सबैभन्दा ठूलो मार प्रत्यक्ष रूपमा उपभोक्ताले खेपिरहेका छन् ।

सिन्धुलीका बजारका एक उपभोक्ताका अनुसार “ग्यास लिन तीन पटकसम्म लाइनमा बसेँ । घण्टौँ लाइन बसेर पालो कुर्दा पनि ग्यास पुगेन । घरमा खाना पकाउने ग्यास नहुँदा परिवारलाई खाना खुवाउनसमेत समस्या भइरहेको छ,” उनले भने, “सरकार भन्छ- ग्यास पर्याप्त आएको छ भन्छ । तर बजारमा हामीले किन पाउन सकेका छैनौँ ?”

ग्यास विक्रेताहरू भने आपूर्ति पूर्ण रूपमा बन्द नभएको बताउँछन् । उनीहरूका अनुसार ग्यास आइरहेको भए पनि अभावको हल्ला र त्रासका कारण उपभोक्ताले सामान्यभन्दा धेरै ग्यास माग्न थालेपछि  ग्याँसको अभाव जस्तो भयो  ।

सिन्धुलीका एक ग्यास पसल सञ्चालकले भने, “ग्यास आइरहेको छ । उपभोक्तामा यसरी हाहाकार हुनुपर्ने अवस्था होइन । तर ग्यास नपाइएला भन्ने डरले आवश्यकताभन्दा बढी सिलिण्डर स्टक राख्न थालेपछि सबैलाई पुग्ने गरी वितरण गर्न कठिन भइरहेको छ ।”

उनका अनुसार अहिले सबैभन्दा ठूलो समस्या माग र वितरणबीचको असन्तुलन हो ।

“हामीले उपभोक्तालाई सम्झाउने गरेका छौँ– ग्यासको खाँचो हुँदैन, घरमा धेरै सिलिण्डर स्टक नराख्नुस् । आज एउटा सिलिण्डर आवश्यक छ भने त्यति मात्रै लैजानुस् । सबैले केही दिन मितव्ययिता अपनाउने हो भने सबैलाई पुर्‍याउन सकिन्छ,” उनले भने ।

नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको दाबी गर्दै आएको छ । निगमका अनुसार ग्यासको आयात तथा बिक्री वितरण भइरहेको छ । तर पूर्ण तौलको सिलिण्डर बजारमा पुनः आउन थालेपछि एकैपटक माग बढ्दा वितरण व्यवस्थामा चाप परेको निगमको भनाइ छ ।

निगमले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास खरिद गरी भण्डारण नगर्न आग्रह गरेको छ । निगमले बजारमा ग्यासको अस्वाभाविक माग बढेकाले उपभोक्ताको मागअनुसार आपूर्ति गर्न कठिन भइरहेको बताएका छन् । उनले अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न आग्रह गर्दै समस्या दुई साताभित्र सहज हुने विश्वास व्यक्त गरेका थिए ।

तर उपभोक्ताको प्रश्न भने उस्तै छ– ग्यास पर्याप्त छ भने बजारमा सहज रूपमा किन पाइँदैन ?

यही प्रश्नको जवाफ आपूर्ति मात्र बढाएर होइन, वितरण प्रणालीलाई पारदर्शी र प्रभावकारी बनाएर दिनुपर्ने देखिन्छ ।

ग्यास अभावको त्रासमा घरमा धेरै सिलिण्डर थुपार्नु उपभोक्ताका लागि जोखिममुक्त भने छैन ।

LPG सिलिण्डरलाई प्रत्यक्ष घाम, अत्यधिक ताप, आगो वा कम हावापसार हुने स्थानमा राख्दा सुरक्षा जोखिम बढ्न सक्छ । सिलिण्डरमा क्षति, भल्भमा समस्या वा चुहावट भएमा आगलागी तथा विस्फोटको खतरा हुन सक्छ ।

 ग्यास चुहावट हुन सक्छ । सिलिण्डरको बाहिरी भागमा चिस्यान देखिनु वा चुलोको ज्वाला पहेँलो हुनुका कारण पनि अन्य प्राविधिक समस्या हुन सक्छन् ।

Related Articles

Back to top button