सिन्धुलीगढी प्रवर्द्धनमा नेपाली सेनाका सदस्यहरूको योगदान, प्रशंसा–पत्र प्रदान
सिन्धुली, ४ साउन — ऐतिहासिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिने सेल्फिडाँडा (गढी डाँडा) क्षेत्रको सौन्दर्य अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्याएका नेपाली सेनाका दुई सदस्यलाई प्रशंसा–पत्र प्रदान गरी सम्मान गरिएको छ।
मध्यपुर्वी प्रितना तालिम शिक्षालय, धनुषामा कार्यरत रहँदा धनलाल बिक र खड्गदल गण, रामेछापमा कार्यरत हुँदा कबिराज सुनारले गढी डाँडाको प्रवर्द्धनमा आफ्नो समय, सीप र पसिना खर्चेर उल्लेखनीय कार्य गरेका हुन्। उनीहरूले भित्ते लेखन (Art), शालिक निर्माण र अनावरण, साथै वातावरणीय सजावटमार्फत गढी डाँडालाई आकर्षक, शैक्षिक र सौन्दर्यपूर्ण बनाउने कार्यमा अग्रणी भूमिका निर्वाह गरेका थिए।

सिन्धुलीगढी क्षेत्र नेपाली इतिहासको गौरवपूर्ण पृष्ठभूमि बोकेको स्थल हो। अंग्रेज सेनासँग भएको युद्धमा नेपाली सेनाले देखाएको वीरता र साहसको साक्षीका रूपमा यो स्थान चिनिन्छ। ऐतिहासिक महत्त्वका साथै पर्यटकीय सम्भावना बोकेको गढी डाँडालाई आकर्षक बनाउने लक्ष्यका साथ विभिन्न सरोकारवालाहरू सक्रिय भइरहेका छन्।
त्यसै क्रममा, आफ्नो पदस्थापनका क्रममा यी दुई सेनाका सदस्यहरूले स्वेच्छिक रूपमा गढी क्षेत्रको सौन्दर्य र सन्देश सम्प्रेषणका लागि कला र सिर्जनात्मकताको प्रयोग गरेका थिए। उनीहरूको योगदानलाई सम्मान गर्दै एक विशेष समारोहका बीच प्रशंसा–पत्र प्रदान गरिएको हो।
कार्यक्रममा कमलामाई नगरपालिका, नेपाली सेना र स्थानीय बासिन्दाहरूको उपस्थितिमा दुबै सदस्यको कामको खुलेर प्रशंसा गरिएको थियो।

उक्त अवसरमा बोल्दै स्थानीय प्रतिनिधिहरूले भने, “धनलाल बिक र कबिराज सुनारजस्ता सिर्जनशील र समर्पित व्यक्तित्वहरूको मेहनतले गढीको पहिचान अझ सशक्त भएको छ। उनीहरूप्रति धन्यवाद व्यक्त गर्दै हामी सम्पूर्ण नेपाली सेनाप्रति कृतज्ञ छौँ।”
साथै, कमलामाई नगरपालिकाले यस्ता कार्यहरूलाई निरन्तर सहयोग र प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। यो अभियानले सिन्धुलीगढीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा चिनाउने विश्वास लिइएको छ।


