ताजा समाचार

वीरगञ्जमा नक्कली परीक्षार्थी पक्राउ, कांग्रेस नेताको छोराले बुवाको नाममा परीक्षा दिएको खुलासा

वीरगञ्ज,२२ भदौ २०८२, वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा शनिबार भएको स्नातकोत्तर (एम.ए) राजनीति शास्त्र, तेस्रो सेमेस्टरको परीक्षामा नक्कली परीक्षार्थी पक्राउ परेका छन्। पक्राउ पर्ने युवक २५ वर्षीय महमद अफताब, नेपाली कांग्रेस पर्साका क्षेत्रीय सभापति महमद साहबुद्धिनका छोरा हुन्।

क्याम्पस प्रमुख मोहन यादवका अनुसार, सिम्बोल नम्बर १५२७०२३ का वास्तविक परीक्षार्थी साहबुद्धिनकै नाममा परीक्षा दिइरहेका अफताबलाई अनुगमन टोलीले रंगेहात नियन्त्रणमा लिएको हो। उनले बुवाकै नाममा प्रवेशपत्रमा आफ्नै फोटो टाँसी प्रयोग गरेको खुलेको छ।

घटनापछि क्याम्पस प्रशासनले उनलाई प्रहरीलाई बुझाएको छ। हाल अफताब वडा प्रहरी कार्यालय, वीर्तामा छन्।

क्याम्पस प्रशासनले त्रिभुवन विश्वविद्यालयको “संगठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५०” को दफा २७० (क) अनुसार कारबाही अघि बढाइने जनाएको छ। उक्त प्रावधानअनुसार नक्कली परीक्षार्थी पठाउने र अरूको सट्टा परीक्षा दिने दुवैलाई कानुनी सजाय हुने व्यवस्था छ।

यसरी परीक्षामा भएको अनियमितताले विश्वविद्यालय र क्याम्पस दुवैको शैक्षिक विश्वसनीयतामै प्रश्न उठाएको विद्यार्थी संगठन र सरोकारवालाको भनाइ छ। उनीहरूले दोषीमाथि कठोर कारबाही गर्न माग गरेका छन्।

Related Articles

Leave a Reply

Back to top button