बैदेशिक समाचार

भारतको पुणामा ११ वर्षीय नेपाली बालक मृत फेला, घटनाले प्रवासी नेपालीमा शोक र त्रास

पुणा (महाराष्ट्र), भारत —
अछाम जिल्ला ढकारी गाउँपालिका–२ फाटाबगर स्थायी घर भएका डबले सार्कीका ११ वर्षीय छोरा प्रकाश सार्की भारतको महाराष्ट्र राज्य अन्तर्गत पुणा जिल्लाको हडवसर–ससाने नगर क्षेत्रमा मृत अवस्थामा फेला परेका कुरा भारतीय समाचार माध्यहरुले  बताएका छन्।

प्राप्त प्रारम्भिक जानकारीअनुसार प्रकाश मंसिर २४ गते साँझ करिब ६ बजेदेखि एक्कासी बेपत्ता भएका थिए। खोजीका क्रममा आज उनको बसोबास नजिकैको स्थानमा शव फेला परेको हो।

स्थानीय स्रोतका अनुसार बालकको शवमा गम्भीर चोटपटक देखिएको र आन्तरिक अंगसम्बन्धी शंका उत्पन्न हुने अवस्था रहेको बताइएको छ। यद्यपि, यस विषयमा भारतीय प्रहरीले औपचारिक पुष्टि गरिसकेको छैन र घटनाबारे पोस्टमार्टम रिपोर्टपछि मात्रै यथार्थ खुल्ने जनाएको छ।

घटनास्थलमा पुगेको भारतीय प्रहरीले शवलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। बालक कसरी बेपत्ता भए, कसको संलग्नता हुनसक्छ र घटनाको वास्तविक कारण के हो भन्ने विषयमा अनुसन्धान जारी रहेको बताइएको छ।

यस हृदयविदारक घटनाले भारतमा श्रम तथा बसोबास गरिरहेका प्रवासी नेपाली समुदायलाई गहिरो शोक र त्रासमा पारेको छ। स्थानीय नेपाली समुदाय तथा मानवअधिकारकर्मीहरूले घटनाको निष्पक्ष र गहिरो छानबिन गर्न माग गरेका छन्।

यसैबीच, सरोकारवालाहरूले प्रवासमा बस्ने नेपाली अभिभावकहरूलाई आफ्ना बालबालिकाको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेका छन्। अपरिचित व्यक्ति, एक्लै हिँडडुल, र जोखिमयुक्त स्थानप्रति सतर्क रहन समेत सुझाव दिइएको छ।

प्रकाश सार्कीको परिवारलाई यो दुखद घडीमा न्याय दिलाउन र दोषीलाई कडा कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ। भारतीय समाचार माध्यहरुले उनलाई रेलको ट्रयाकमा मृत अवस्थामा देखिएक प्रकाशन गरेका छन् ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button