ताजा समाचार

सिन्धुलीमा उत्साहपूर्ण र सभ्य चुनावी माहोल,

सिन्धुली ‚ १६

— आसन्न २१ गते हुने निर्वाचन नजिकिँदै जाँदा जिल्लाभर चुनावी गतिविधि तीव्र बनेको छ। सिन्धुलीमा क्षेत्र नम्बर १ र २ मा यसपटकको चुनावी वातावरण सभ्य, मर्यादित र सकारात्मक देखिएको छ। प्रतिस्पर्धी उम्मेदवारहरूबीच भेट हुँदा हात मिलाएर शुभकामना आदान–प्रदान गर्ने, एक–अर्काप्रति सम्मान प्रकट गर्ने दृश्यले लोकतान्त्रिक संस्कृतिको परिपक्व अभ्यास झल्काएको स्थानीयवासीहरू बताउँछन्। दलका नेता तथा कार्यकर्ताबीच समेत आपसी सद्भाव, सहिष्णुता र संयमता देखिनु यस क्षेत्रको उल्लेखनीय पक्ष बनेको छ।

यसै सन्दर्भमा सिन्धुलीको सदरमुकाम अन्तर्गत पर्ने कमलामाई नगरपालिकामा आज नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार लेखनाथ दाहालको (तारा चिन्ह) को चुनावी घरदैलो अभियान सम्पन्न भएको छ। अभियानमा करिब छ सय देखि सात सयसम्म समर्थक तथा स्थानीयवासीहरूको सहभागिता रहेको आयोजक पक्षले जनाएको छ । तारा चिन्ह अंकित झण्डा, नाराबाजी र समर्थकहरूको उपस्थितिले बजार क्षेत्र तथा बस्तीहरूमा चुनावी माहोल थप जीवन्त देखिन्थ्यो।

सिन्धुली क्षेत्र नं‚२मा नेपाली कम्युनिष्ट पार्टीको चुनावी अभियान

घरदैलो अभियानका क्रममा उम्मेदवार दाहाल आत्मविश्वासका साथ मतदातासँग प्रत्यक्ष संवादमा जुटिएका थिए। घर–घर पुगेर उनले आफ्ना एजेन्डा, विकास योजनाहरू र प्रतिबद्धताबारे जानकारी गराए। मतदातासँग नमस्कार गर्दै हात मिलाउँदै उनीहरूका समस्या सुन्ने र सुझाव ग्रहण गर्ने शैलीले समर्थकहरूलाई उत्साहित बनाएको देखिन्थ्यो। सहभागीहरूका अनुसार दाहालको अनुहारमा चुनावप्रति दृढ विश्वास र उत्साह झल्किन्थ्यो।

लेखनाथ दाहाल चुनावी अभियानमा मतदाता संग

घरदैलोका क्रममा कतिपय स्थानीयवासीहरूले दाहाललाई “अप्ठ्यारो पर्दा साथ दिने, दुःखमा आफैं उपस्थित भएर सहयोग गर्ने र बोलेको कुरा पूरा गर्ने जुझारु नेता ” का रूपमा चित्रण गर्दै खुलेर समर्थन व्यक्त गरेका थिए। केहीले “दल फरक भए पनि व्यक्तित्व, इमान्दारिता र कार्यशैलीका आधारमा मतदान गर्ने” प्रतिबद्धता जनाएका थिए। उनीहरूका अनुसार दाहाल निमुखा र विपन्न वर्गप्रति सहानुभूति राख्ने, अन्याय र भ्रष्टाचारविरुद्ध स्पष्ट अडान लिने नेता भएको धारणा व्यक्त गरेका छन्।

कनपा वडा नं‚६ को चुनावी अभियान

यद्यपि निर्वाचन प्रतिस्पर्धात्मक रहँदै गर्दा अन्य दलका उम्मेदवारहरू पनि आ–आफ्ना कार्यक्रमसहित मतदातामाझ सक्रिय छन्। तर समग्रमा सिन्धुलीमा देखिएको सभ्य प्रतिस्पर्धा, शान्तिपूर्ण प्रचार–प्रसार र मतदाताको उत्साहजनक सहभागिताले लोकतान्त्रिक संस्कृतिको सुदृढीकरणतर्फ सकारात्मक संकेत गरेको छ।

यसपटकको चुनावी अभियानले आपसी सम्मान, सहिष्णुता र विचारको प्रतिस्पर्धालाई प्राथमिकता दिएको स्थानीय विश्लेषकहरूको भनाइ छ। चुनाव परिणाम जे आए पनि शान्तिपूर्ण र मर्यादित वातावरणमा लोकतान्त्रिक अभ्यास हुनु नै सबैभन्दा ठूलो उपलब्धि हुने छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button