मरिण गाउँपालिका ‘PAN उत्कृष्ट गाउँपालिका पुरस्कार २०८२’ बाट सम्मानित

सिन्धुली, जेठ १३ — शिक्षा क्षेत्रमा देखिएको दूरदर्शिता, नवप्रवर्तन र गुणस्तरीय सुधारको पहिचानस्वरूप सिन्धुलीको मरिण गाउँपालिका “PAN उत्कृष्ट गाउँपालिका पुरस्कार २०८२” बाट सम्मानित हुने भएको छ। देशभरका स्थानीय तहहरूको विश्लेषणपछि प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (PAN) ले मरिणलाई बागमती प्रदेशकै उत्कृष्ट गाउँपालिका घोषणा गरेको हो।
प्रा.डा. विद्यानाथ कोइरालाको अध्यक्षतामा गठित मूल्याङ्कन समितिले निर्धारण गरेका २५ शैक्षिक सूचकांकका आधारमा गरिएको मूल्याङ्कनमा मरिणले उल्लेखनीय प्रगति गरेको जनाइएको छ। विद्यालय प्रशासनमा पारदर्शिता, शिक्षाको गुणस्तर अभिवृद्धि, सिर्जनात्मक कार्यशैली र नेतृत्व क्षमताको सुदृढीकरण लगायतका पक्षहरूमा मरिणको पहलकदमीलाई उच्च मूल्याङ्कन गरिएको हो।
पुरस्कार यही जेठ २३ गते पोखरामा हुने “PAN दोस्रो राष्ट्रिय सम्मेलन २०८२” मा प्रदान गरिनेछ। “नेतृत्वका नयाँ परिभाषा : विद्यालय उत्कृष्टताका लागि परिवर्तनको अगुवाइ” भन्ने मूल नारासहित आयोजना हुने उक्त सम्मेलनमा देशभरका शैक्षिक अगुवा, नीति निर्माता तथा सरोकारवाला सहभागी हुनेछन्।
गाउँपालिकाका अध्यक्ष विमर्श मोक्तानले यो सम्मान सम्पूर्ण मरिणवासीको साझा प्रयास र सफलताको परिणाम भएको बताएका छन्। “यो केवल सम्मान मात्र होइन, आगामी दिनमा अझ प्रभावकारी शिक्षण–सिकाइ र समावेशी शैक्षिक विकासको दिशामा अघि बढ्न प्रेरणा पनि हो,” उनले भने।
उनले थपे, “हामी नागरिकका छोराछोरीलाई सामुदायिक विद्यालयबाट नै गुणस्तरीय शिक्षा दिने प्रतिबद्धतासाथ अघि बढेका छौँ। शिक्षामा देखिएको नवीन सोच, योजनाबद्ध कार्यान्वयन र सामुदायिक सहभागिताले अन्य स्थानीय तहहरूलाई पनि प्रेरणा दिने विश्वास लिएको छौँ।”
