टंकमायाको हत्या भएको खुलासा , कुटपिट पछि हत्या गरेको स्वीकारे हत्यारले :
सिन्धुली। तिनपाटन गाउँपालिका–३ मा टंकमायाको कुटपिटपछि हत्या भएको घटनामा संलग्न दुई जनाले हत्या गरेको स्वकारेका छन् । उनीलाई पौष १३ गते प्रहरीले पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले घटनाबारे पत्रकार सम्मेलनमार्फत जानकारी गराउँदै थप अनुसन्धान भइरहेको जनाएको छ ।
पौष १० गते बिहान तिनपाटन–३ निवासी वर्ष ४३ की टंकमाया बुढाथोकी घरबाट बेपत्ता भएकी थिइन्। उनी परिवारसँग बेलुकाको खाना खाएर आफ्नै ओछ्यानमा सुतेकी थिइन्। बिहान ओछ्यानबाट नउठेपछि परिवारले खोजी गर्दा नदेखिएपछि छिमेकी तथा स्थानीयको सहयोगमा खोजतलास गरिएको थियो। खोजी गर्दा पनि फेला नपरेपछि परिवारले प्रहरीलाई जानकारी गराएका थिए।
सूचनापछि खोजतलास सुरु गरेको प्रहरीले १२ गते बिहान करिब ८:३० बजे घरबाट करिब १ किलोमिटर उत्तरतर्फ बाँसको झ्याङमा बुढाथोकीको शव सडेको अवस्थामा फेला पारेको थियो ।
घटनास्थलमा शवको मुचुल्का उठाएपछि शवलाई पोस्टमार्टमका लागि सिन्धुली अस्पताल लगिएको थियो। पोष्टमार्टम पश्चात शव परिवारले अन्तिम सस्कारका गरे । प्रारम्भिक अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको आशंकामा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको थियो ।
पक्राउ पर्नेहरूमा तिनपाटन गाउँपालिका–३ निवासी वर्ष ३० का शान्ति बहादुर बुढाथोकी र सोही स्थानका वर्ष २१ का चुक बहादुर कटुवाल रहेका छन्। प्रहरीका अनुसार उनीहरूले पौष ८ गते रातिको समयमा टंकमाया बुढाथोकीलाई कुटपिट गरी हत्या गरेको स्वीकार गरेका छन्।
प्रहरी अनुसन्धानका क्रममा मुख्य प्रतिवादी शान्ति बहादुर बुढाथोकी यसअघि २०७३ सालमा चोरी कसुरमा पक्राउ परी ६ वर्ष कैद सजाय भुक्तान गरी छुटेको अभिलेखसमेत फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।


