ताजा समाचारराष्ट्रिय राजनीति

नेकपा एमालेको ११औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा पुनः केपी शर्मा ओली निर्वाचित

काठमाडौँ पौष ३-

जेञ्जी आन्दोलनको प्रभाव र तीव्र राजनीतिक दबाबपछि तत्कालीन प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पदबाट राजीनामा दिएपछि नेकपा (एमाले) ले आयोजना गरेको ११औँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ। महाधिवेशनले चुनावमार्फत ओलीलाई तेस्रो कार्यकालका लागि पुनः पार्टी अध्यक्षमा निर्वाचित गरेको हो।

नेकपा (एमाले) ले आन्तरिक संगठन सुदृढीकरण, विगतका कमजोरीको समीक्षा र आउँदो निर्वाचनको तयारी गर्ने उद्देश्यसहित ११औँ महाधिवेशन २०८२ मंसिर २७ गतेसम्म भक्तपुरको सल्लाघारीमा  उद्घाटन गरी भृकुटी मण्डलमा बन्दशत्र गरेको थियो। महाधिवेशनमा पार्टीको नीति तथा कार्यक्रम, विधान संशोधन, संगठनात्मक संरचना र नेतृत्व चयन मुख्य एजेन्डाका रूपमा प्रस्तुत गरिएका थिए।

सरकारले फेरबुक बन्द गर्ने निर्णय गरेपछि भदौ २२ र २३ गते जेञ्जीले सरकारको मनोमानी रबैयाको विरुध्द आन्दोलन गरेका थिय । आन्दोलन भ्रष्टचार, बेरोजगारी, मूल्यवृद्धि, सुशासनको अभाव र राजनीतिक बेथितिविरुद्ध केन्द्रित थियो। आन्दोलन क्रमशः देशभर फैलिँदै गएपछि सरकार र आन्दोलनकारीबीच विभिन्न स्थानमा झडप भएका थिए। ती घटनामा मानवीय क्षतिका साथै सार्वजनिक तथा निजी सम्पत्तिमा ठूलो क्षति पुगेको थियो। परिस्थितिलाई नियन्त्रणमा लिन सरकार असफल भएको आरोप चर्कँदै गएपछि तत्कालीन प्रधानमन्त्री ओलीले २०८२ भदौ २४ गते पदबाट राजीनामा दिएका थिए। राष्ट्रपतिलाई बुझाएको राजीनामापत्रमा उनले संवैधानिक निकास खोज्ने र राजनीतिक शान्ति कायम गर्ने उद्देश्य उल्लेख गरेका थिए।
राजीनामापछि संविधानको व्यवस्था अनुसार अन्तरिम सरकार गठन गरी संसद् भंग गरिएको थियो। अन्तरिम सरकारले मुलुकलाई शान्ति, स्थिरता र आगामी निर्वाचनतर्फ लैजानु आफ्नो प्रमुख प्राथमिकता रहेको जनाएको थियो।

महाधिवेशनको सबैभन्दा महत्वपूर्ण कार्य अध्यक्षसहित केन्द्रीय पदाधिकारीहरूको निर्वाचन थियो। अध्यक्ष पदका लागि वरिष्ठ नेता ईश्वर पोखरेलले चुनौती दिए पनि अन्तिम मतगणनामा केपी शर्मा ओलीले स्पष्ट बहुमत हासिल गर्दै पुनः अध्यक्ष पद सुरक्षित गरेका छन्। निर्वाचन परिणामअनुसार ओलीले १,६६३ मत प्राप्त गर्दा पोखरेलले ५६४ मत मात्र प्राप्त गरे।
निर्वाचन परिणामले पार्टीभित्र शक्ति सन्तुलन अझै पनि ओलीतर्फ केन्द्रित रहेको स्पष्ट संकेत गरेको छ। यद्यपि, महाधिवेशनअघि र दौरानमा पार्टीका केही वरिष्ठ नेताहरूले नेतृत्वमा नयाँ पुस्तालाई अवसर दिनुपर्ने आवश्यकता औँल्याएका थिए।
अध्यक्ष ओलीको प्यानलबाट अधिकांश पदाधिकारीहरू पनि निर्वाचित भएका छन्। महासचिव पदमा शंकर पोखरेल पुनः चयन भएका छन् भने उपाध्यक्ष, सचिव तथा अन्य केन्द्रीय पदहरूमा समेत ओली पक्षधर उम्मेदवारहरूले बहुमत प्राप्त गरेका छन्।
महाधिवेशनले पार्टी विधान संशोधन गर्दै दुई कार्यकाल र उमेरसीमा सम्बन्धी प्रावधान हटाउने निर्णय गरेपछि ओलीलाई तेस्रो कार्यकालका लागि उम्मेदवारी दिने बाटो खुलेको थियो।
पुनः अध्यक्षमा निर्वाचित भएपछि ओलीले महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै जेञ्जी आन्दोलनलाई गम्भीर सन्देशका रूपमा लिएको बताएका छन्। “जनताले उठाएको आवाजलाई बुझ्न नसक्ने नेतृत्व दीर्घकालसम्म टिक्न सक्दैन। पार्टीलाई अघि बढाउँदा जनअसन्तुष्टि र अपेक्षालाई सम्बोधन गर्नु अनिवार्य छ,” उनले भने। उनले आगामी निर्वाचनमा पार्टीलाई अझ सुदृढ, अनुशासित र स्पष्ट उद्देश्यसहित अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

महाधिवेशनमा सहभागी प्रतिनिधिहरूले आन्दोलन र सरकार सञ्चालनका क्रममा देखिएको असन्तोषलाई पार्टीभित्र विविधता, आन्तरिक लोकतन्त्र र उदाउँदो पुस्ताको सहभागितामार्फत सम्बोधन गर्नुपर्ने धारणा राखेका छन्। उनीहरूका अनुसार यो महाधिवेशन नेतृत्व चयन मात्र नभई पार्टीको आत्मालोचना र नयाँ रणनीति तय गर्ने ऐतिहासिक अवसर समेत बनेको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार ओलीको पुनः अध्यक्ष चयनले पार्टीभित्र तत्कालीन स्थिरता कायम भए पनि जेञ्जी आन्दोलनले उठाएका जवाफदेहिता, सुशासन र युवा सहभागिताका मुद्दालाई व्यवहारमा उतार्नु अब नेतृत्वको प्रमुख चुनौती हुनेछ।

११औँ महाधिवेशन सम्पन्न भएसँगै नेकपा (एमाले) नयाँ नेतृत्व, संशोधित नीति र आगामी आम निर्वाचनका लागि तय गरिएको रणनीतिसहित राजनीतिक यात्रामा अघि बढेको छ। अब पार्टीले जेञ्जी आन्दोलनका मागलाई नीति, कार्यक्रम र व्यवहारमा कति प्रभावकारी रूपमा समायोजन गर्छ भन्ने कुराले नेपालको आगामी राजनीतिक दिशा निर्धारण गर्ने विश्लेषकहरूको भनाइ छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button