गाउँघरका आवाज

उज्यालो नेपाल पार्टी मरिण गाउँपालिका कमिटीको दोस्रो बैठक सम्पन्न, मंसिर ८ देखि सातवटै वडामा संगठन विस्तार अभियान सञ्चालन गरिने

सिन्धुली २,

उज्यालो नेपाल पार्टी मरिण गाउँपालिका कमिटीको दोस्रो बैठक पार्टी कार्यालय कपिलाकोटमा सम्पन्न भएको छ। गाउँपालिका कमिटी अध्यक्ष सरोज मोक्तानको अध्यक्षतामा सम्पन्न बैठकमा पार्टीका केन्द्रीय युवा विभाग प्रमुख राज कुमार मैनालीको प्रमुख आतिथ्यता रहेको थियो।

बैठकमा जिल्ला कमिटी सदस्यहरू चन्द्रबहादुर दोङ तामाङ, आत्माराम लामा र विजय थिङलगायतको उपस्थिति रहेको थियो।

बैठकले ‘मिसन उज्यालो सिन्धुली’ अभियान अन्तर्गत पार्टीको प्रथम स्थापना दिवसको अवसर पारेर मंसिर ५ गते नयाँबस्ती धमिलेमा बृहत् हस्ताक्षर अभियान तथा पार्टी सदस्यता वृद्धि अभियान शुभारम्भ गर्ने निर्णय गरेको छ।

त्यसैगरी, मंसिर ८ गतेदेखि मरिण गाउँपालिका वडा नं. ७ जयमंगलबाट वडास्तरीय भेला तथा कमिटी गठन अभियान सुरु गरी मंसिर १५ गतेसम्म गाउँपालिकाका सातवटै वडामा भेला सम्पन्न गर्ने कार्ययोजना तय गरिएको छ।

बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि राज कुमार मैनालीले उज्यालो नेपाल पार्टीको राजनीतिक दृष्टिकोण, मध्यमार्गी विचारधारा, हरित क्रान्ति, सुशासन र समृद्ध नेपाल निर्माणको अवधारणाबारे चर्चा गर्नुभयो। उहाँले पार्टीका नीति, विचार र दृष्टिकोणलाई जनताको घरदैलोसम्म पुर्‍याउन, स्थानीय जनतासँग प्रत्यक्ष संवाद तथा जनसम्पर्क विस्तार गर्न र संगठनलाई जनतासँग जोडेर अगाडि बढाउन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो।

बैठकले मंसिर महिनाको अन्त्यतिर मरिण गाउँपालिका स्तरीय बृहत् भेला आयोजना गर्ने तथा उक्त भेलामा पार्टीका केन्द्रीय अध्यक्ष कुलमान घिसिङलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गर्ने निर्णयसमेत गरेको छ।

पार्टी संगठनलाई वडा तहसम्म थप मजबुत बनाउँदै जनताको समस्या, आवश्यकता र आवाजलाई राजनीतिक अभियानसँग जोड्ने उद्देश्यसहित बैठकले आगामी कार्यक्रम तथा संगठन विस्तारको कार्ययोजना पारित गरेको हो।

बैठकले ‘मिसन उज्यालो सिन्धुली’ अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउने प्रतिबद्धतासहित बैठक समापन गरेको छ।

Related Articles

Back to top button