किर्ते हस्ताक्षर गरी गाउँसभा गरेको आरोपमा गाउँपालिका अध्यक्ष पक्राउ
सर्लाही मंसिर २
गाउँसभा सदस्यको हस्ताक्षर किर्ते गरी गाउँसभा सम्पन्न गरेको आरोपमा सर्लाहीको बसबरिया गाउँपालिकाका अध्यक्ष रामसिंहासन राय पक्राउ परेका छन्। उनलाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गाउँसभा सम्पन्न भएको माइन्युटमा सदस्यको हस्ताक्षर किर्ते गरेको आरोपमा अध्यक्ष रायविरुद्ध उजुरी परेको थियो। सोही उजुरीका आधारमा सरकारी कागजात किर्तेसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
विवाद २०८० असार १० गते आर्थिक वर्ष २०८०/०८१ को गाउँसभा तथा बजेट पारित गर्ने क्रममा उत्पन्न भएको समाचारमा उल्लेख छ। गाउँसभामा अनुपस्थित वडा सदस्य सुनैना सहनीको हस्ताक्षर किर्ते गरी बजेट पारित गरिएको आरोप अध्यक्ष रायमाथि लागेको छ। बजेट पारित गर्ने विषयमा मत बराबर भएपछि हस्ताक्षर किर्ते गरिएको आरोपसमेत सार्वजनिक भएको छ।
यस विषयमा गाउँपालिका अध्यक्ष रायले भने बजेट सर्वसम्मत रूपमा पारित भएको दाबी गर्दै आएका थिए।



