गाउँघरका आवाज

खुर्कोटमा विङ्गर गाडी दुर्घटना हुनुको रहस्य के के हुन सक्छः

सिन्धुली २ मंसिर

बीपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ पलासेमा भएको विङ्गर दुर्घटनाले राजमार्गको सडक अवस्था र सवारी सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। जनकपुरबाट काठमाडौं जाँदै गरेको विङ्गर गाडी सडकबाट करिब २० मिटर तल अधेरी खोलाको बगरमा खस्दा चालकसहित १५ जना घाइते भएका थिए। घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

मधेश प्रदेश ०४–००१ ज ०२४३ नम्बरको विङ्गर मंगलबार दिउँसो करिब २ बजे अनियन्त्रित भई दुर्घटनामा परेको थियो।

दुर्घटनामा चालक धनुषाको शहीदनगर नगरपालिका–४ का ३६ वर्षीय दीपककुमार दाससहित यात्रुहरू घाइते भएका थिए। प्रारम्भिक विवरणमा सात जनाको अवस्था गम्भीर रहेको जनाइएको थियो।

यसैबीच, पछिल्लो विवरणअनुसार दुर्घटनामा गम्भीर घाइते भएका धनुषाका ४३ वर्षीय प्रमोदकुमार धामी र तीन वर्षीय ओम साहको उपचारका क्रममा मृत्यु भएको छ। दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ भने १३ जना घाइते छन्

स्थानीय सडकको अवस्थालाई हेर्दा दुर्घटनाको जोखिम बढाउने विभिन्न पक्ष देखिन्छन्। राजमार्गका केही स्थानमा सडकमा खाल्डाखुल्डी हुनु, पिच उक्किएर एकै ठाउँमा थुप्रिँदा डाँडाजस्तो उठेर सतह बिग्रनु, सडक साँघुरो हुनु तथा सडकको अवस्था जनाउने ट्राफिक संकेत र चेतावनी चिह्नको अभावले सवारी आवागमन जोखिमपूर्ण बनेको छ।

कतिपय स्थानमा सडकको पिचमा खाल्टो पिच एकै ठाउँमा थुप्रिएको, र भत्किएको अवस्थामा रहेकाले चालकलाई सवारी नियन्त्रण गर्न कठिन हुन सक्ने देखिन्छ। यससँगै सवारीसाधनको तीव्र गति, चालकको लापरबाही तथा सडकको अवस्थाअनुसार गति नियन्त्रण नगर्नु पनि दुर्घटनाका सम्भावित कारण हुन।

बीपी राजमार्गमा दैनिक सयौँ सवारीसाधन आवतजावत गर्ने भएकाले सडक मर्मत, खाल्डाखुल्डी पुर्ने, जोखिमयुक्त स्थानमा संकेत चिह्न राख्ने र गति नियन्त्रणमा कडाइ गर्नुपर्ने आवश्यकता देखिएको छ।

Related Articles

Back to top button