ताजा समाचार

सिन्धुलीका सबै स्थानीय तहले सार्वजनिक गरे २०८२/८३ को नीति तथा बजेट

सिन्धुली, असार १२ – सिन्धुली जिल्लाका सबै ९ वटा स्थानीय तहले आर्थिक वर्ष २०८२र८३ का लागि नीति, कार्यक्रम र बजेट सार्वजनिक गरेका छन्। गाउँसभा तथा नगरसभा बसेर पालिकाहरूले कृषि, पूर्वाधार, स्वास्थ्य, शिक्षा, रोजगारी र सामाजिक सुरक्षालाई प्राथमिकता दिँदै बजेट पारित गरेका हुन्।
तीनपाटन गाउँपालिकाले ८५ करोड ३३ लाख बराबरको बजेट प्रस्तुत गरेको छ भने हरिहरपुरगढीले ६१ करोड १३ लाखको बजेट ल्याएको छ। तीनपाटनले ८१ वटा क्षेत्र समेटेर नीति कार्यक्रम ल्याएको छ, जसमा कृषि, पशुपालन, शिक्षा, स्वास्थ्य, वातावरण, विपद् व्यवस्थापन र सेवा प्रवाहलाई प्राथमिकता दिइएको छ। उत्कृष्ट विद्यार्थीलाई ल्याप्टपसहित सम्मान गर्ने कार्यक्रम समेत समावेश गरिएको छ।
हरिहरपुरगढीले प्रत्येक वडालाई १ करोडको स्वतन्त्र योजना दिने नीति ल्याएको छ। कृषि उत्पादनको ब्राण्डिङ, विद्यालय सुधार, स्वास्थ्य सुविधा विस्तार, मातृत्व भत्ता, अस्पताल निर्माण, सञ्चार पहुँच र पर्यटन प्रवर्द्धन प्राथमिकतामा राखिएको छ।
कमलामाई नगरपालिकाले १ अर्ब ३९ करोड ४१ लाख बराबरको बजेट पारित गरेको छ। पूर्वाधार, रोजगारी सिर्जना, वातावरणमैत्री विकास र सामाजिक समावेशी कार्यक्रम प्राथमिकतामा छन्। दुधौली नगरपालिकाले १ अर्ब ८ करोड ३२ लाख बराबरको बजेट प्रस्तुत गर्दै सेवा प्रवाह, कृषि र स्वास्थ्यलाई प्राथमिकता दिएको छ।
गोलन्जोर गाउँपालिकाले ६२ करोड ५२ लाखको बजेट सार्वजनिक गरेको छ। यस वर्ष गोलन्जोरमा नीति तथा बजेटमा कुनै विवाद नदेखिएको हो। सुनकोशी गाउँपालिकाले २६ करोड ३६ लाखको बजेट प्रस्तुत गर्दै लक्षित वर्गहरू – महिला, दलित, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक र बालबालिकालाई प्राथमिकतामा राखेको छ।
मरिण, फिक्कल र घ्याङलेख गाउँपालिकाले पनि नीति तथा कार्यक्रम समयमै पारित गरेका छन्। ती पालिकाहरूले सहभागितामूलक प्रक्रिया अपनाउँदै कृषि, खानेपानी, स्वास्थ्य, शिक्षा, साना पूर्वाधार र समावेशीतामा आधारित बजेट निर्माण गरेका छन्।
सिन्धुलीका सबै पालिकाहरूले समयमै बजेट सार्वजनिक गर्नु सकारात्मक अभ्यास हो। अधिकांश पालिकाले पुँजीगत खर्चमा बढी जोड दिएका छन् भने केही पालिकाहरूले सामाजिक सुरक्षालाई उच्च प्राथमिकतामा राखेका छन्। योजनाहरू जनसहभागितामार्फत संकलन गरी तयार गरिएको र कार्यान्वयनमा पारदर्शिता सुनिश्चित गरिने जनाइएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button