रसुवाको भोटेकोशी बाढी : उद्धारसँगै राहत र पुनःस्थापनाका लागि सहयोग जुटाउन सिन्धुली प्रशासनको अपिल
सिन्धुली १३,
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, Aराहत तथा पुनःस्थापनाका लागि सहयोग गर्न जिल्ला प्रशासन कार्यालय सिन्धुलीले सार्वजनिक अपिल गरेको छ।
सरकारी विवरणअनुसार २०८३ भदौ १० गते बुधबार बिहान ८:४० बजे रसुवाको भोटेकोशी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। बाढीका कारण रसुवा, भोटेकोशी, स्याफ्रुबेसी, बेत्रावती हुँदै त्रिशूली, नुवाकोट धादिङ लगायतका नदी तटीय क्षेत्र प्रभावित भएका छन् । सरकारले प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहतका कार्यलाई तीव्रता दिएको जनाएको छ।
बाढीबाट प्रभावित नागरिकलाई तत्काल सुरक्षित स्थानमा व्यवस्थापन गर्नुपर्ने अवस्था रहेको भन्दै दीर्घकालीन रूपमा पुनःस्थापनाको आवश्यकता समेत देखिएको छ। यस अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सिन्धुलीले विपद् व्यवस्थापन कार्यमा आर्थिक सहयोग गर्न इच्छुक व्यक्ति, संस्था तथा सबै महानुभावलाई नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको आधिकारिक खातामा रकम जम्मा गर्न अनुरोध गरेको हो।
प्रशासनले सार्वजनिक गरेको सूचनामा हिमालयन बैंक लिमिटेड, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल, राष्ट्रिय वाणिज्य बैंक, एभरेस्ट बैंक, नेपाल बैंक, ग्लोबल आइएमई बैंक, नबिल बैंक र कृषि विकास बैंक लगायतका बैंक खातामार्फत सहयोग रकम जम्मा गर्न सकिने उल्लेख छ।
यसैगरी, विपद् प्रभावित क्षेत्रमा वस्तुगत सहायता उपलब्ध गराउँदा सम्बन्धित जिल्लाको जिल्ला विपद् व्यवस्थापन समितिको स्वीकृति लिएर मात्र सहायता उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय सिन्धुलीले आग्रह गरेको छ। राहत सामग्री तथा अन्य सहयोग वास्तविक प्रभावितसम्म व्यवस्थित र प्रभावकारी रूपमा पुर्याउन यस्तो व्यवस्था गरिएको हो।
नेपाल सरकारले पनि भोटेकोशी बाढीबाट प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्न सार्वजनिक अपिल गरिसकेको छ। सरकारले उद्धार, खोज तथा राहतका कामसँगै प्रभावितलाई सुरक्षित स्थानमा व्यवस्थापन र दीर्घकालीन पुनःस्थापनाका लागि स्रोत आवश्यक रहेको जनाएको छ।
बाढीपछि प्रभावित क्षेत्रमा सडक, पुल, विद्युत् तथा अन्य भौतिक संरचनामा समेत क्षति पुगेको छ। मानवीय क्षतिको पीडा र भौतिक संरचनाको विनाशका बीच प्रभावित परिवारलाई तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापना आवश्यक देखिएको छ।
यस्तो संकटको समयमा सरकारी निकायसँगै निजी क्षेत्र, सामाजिक संघसंस्था, व्यवसायी, नागरिक समाज तथा सर्वसाधारणबाट प्राप्त सहयोगले प्रभावित परिवारलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। खोज तलास तथा उद्धार लागी गाडिएको शवको लोकेसन पत्ता लगाउन जीपीएस कोअर्डिनेट रेकर्ड मेसिनको गरिएको छ । उद्धादरका लागी क्षेतीग्रस्त क्षेत्रमा चाइनाबाट चाइनिज सेना खटिरहेका छन् ।




