रमाइलोभन्दा पीडाको अनुभूति, यसपालि फरक देखियो तीज
सिन्धुली, भदौ ३१
हिजो मंगलवार नेपाली नारीहरूको महत्त्वपूर्ण पर्व हरितालिका तीजको अन्तीम दिन पञ्चमी हो । यस वर्षको तीज विगतजस्तो उल्लासमय देखिएन। विगतका वर्षहरूमा तीज आउनुअघि नै माइती जाने चेलीबेटीको आवतजावत बाक्लो हुन्थ्यो। गाउँघरका मठमन्दिर, चौतारा तथा सार्वजनिक स्थान महिलाहरूको जमघटले भरिन्थे। तीजका गीत, नाचगान र दर खाने कार्यक्रमले गाउँघर नै गुञ्जायमान हुन्थ्यो।
तर यस वर्ष धेरै ठाउँमा त्यो रौनक सुस्ताएको छ। यस वर्षको तीजमा व्यक्तिगत खुसीभन्दा सामाजिक उत्तरदायित्व बढी जोडिएको छ। सङ्घसंस्थाले तीजका लागि छुट्याएको रकम रसुवा भोटेकोशीका बाढीपीडितको र उद्धारको लागी राहतमा सहयोग गरेका छन्।
तीजको दर कार्यक्रमका लागि छुट्याइएको रकम भोटेकोशी बाढीपीडितलाई हस्तान्तरण गरिएको छ। यसले पर्वको भन्दा माथि उठेर विपत्तिमा परेका नागरिकप्रतिको मानवीय संवेदनालाई उजागर गरेको छ।

रसुवा–भोटेकोशीको बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। बाढी–पहिरोले कयौको ज्यान गयो भने ठुला संख्यामा सुरुङ फसेका वा व्यपत्ता भएका छन् । धेरै परिवार विस्थापित भएका छन् भने कतिपयले आफन्त, घर र सम्पत्ति गुमाएका छन्। उनीहरुको उद्धारको र व्यवस्थापनको विषय जटिल रहेको छ । यस्तो कठिन अवस्थामा तीजको रमझम भन्दा विपत्तिमा परेका नागरिकको पीडाले धेरैको मन छोएको छ।
यसरी यस वर्षको तीज केवल नाचगान र रमाइलोमा मात्र सीमित रहेन; यो दुःखमा साथ दिने, पीडितप्रति संवेदनशील बन्ने र कठिन परिस्थितिमा पनि सामाजिक एकता एवं सांस्कृतिक परम्परालाई निरन्तरता दिने पर्वका रूपमा स्थापित भएको छ।
जेनजी आन्दोलनको प्रभाव, साउन ११ गते सुनसरीको कप्तानगन्जमा भएको धार्मिक द्वन्द्व र रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीजस्ता विपत्तिले तीजको उमङ्गलाई ओझेलमा पारेको छ। तीज नजिकिँदै गर्दा बजारमा सामग्री किनमेलका लागि भीडभाड हुने गर्दथ्यो। तर यस वर्ष बजारमा विगतको जस्तो चहलपहल थिएन। तीजको उत्साहभन्दा पनि मानविय विपदको शोक बाढीका कारण सुरुङमा फसेकाहरुको उद्धारको र व्यवस्थापनका चासो छ भने अर्को तीर लामो समय देखी अभाव रहेको खाना पकाउने ग्याँसको सवालको चिन्ता रहेको छ।
कतिपय नारी समूह तथा सङ्घसंस्थाले तीजका लागि छुट्याएको रकमसमेत बाढीपीडितको राहतमा सहयोग गरेका छन्।
। धेरैजसोले अनावश्यक खर्च कटौती गरी बाढीपीडित तथा अभावमा परेकाहरूलाई सहयोग गर्ने भावना देखाएका छन्।
तीज नेपाली महिलाको धार्मिक, सांस्कृतिक तथा सामाजिक पहिचानसँग जोडिएको मौलिक पर्व हो। समय र परिस्थितिसँगै यसलाई मनाउने शैलीमा परिवर्तन आएको छ। सामाजिक तनाव, प्राकृतिक विपत्ति र आर्थिक अभावका कारण यसको बाहिरी तडकभडक केही कम देखिए पनि पर्वको मर्म र सांस्कृतिक महत्त्व भने घटेको छैन।



